शुक्रबार, मंसिर १५, २०८०

भारतीले जितिन् मुद्दा, रिगलको कैद मिनाहा बदर


कान्तिपथ


सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका गुन्डा नाइके रिगल भनेर चिनिने योगराज ढकाललाई आममाफी दिने निर्णय बदर गरेको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो ।

चेतनकी पत्नी भारती शेर्पाले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले बिहिबार फैसला गरेको तर के फैसला भयाे भन्नेबारे आधिकारिक जानकारी आईनसकेको सर्वोच्च अदालतका सुचना अधिकारी गोविन्द घिमिरेरे बताए। सर्वोच्चले रिगललाई तत्काल पक्राउ गर्न परमादेश पनि जारी गरेकाे बुझिएको छ।

नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर हत्या गरेको अभियोगमा उनलाई जन्मकैदको सजाय तोकिएको थियो।

श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका रिगललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी भारती मानन्धरले रिले अनसन शुरु गरेकी थिइन्। सर्वोच्चकाे परमादेशसँगै उनले याे मुद्दा जितेकी छिन्।

रिगल २०७२ असार २८ मा नेपालगन्जका चेतन मानन्धरको हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए।

रिगल ढकालसहित १५ जनाको समूहले २०७२ साल असार २८ गते नेपालगन्जको सुर्खेत रोडस्थित धम्बोझी चोकनजिक बस्ने २९ वर्षीय चेतन मानन्धरको खुँडा प्रहार गरी हत्या गरेका थिए। हत्याको एक महिनापछि २०७२ भदौ ७ गते ढकालले अदालतमा आत्मसमर्पण गरेका थिए। त्यसबेला ढकाल नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दल बाँके क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापतिसमेत थिए।

मानन्धरको हत्यामा संलग्नहरूलाई कर्तव्य ज्यान मुद्दा चलाइएको थियो। बाँके जिल्ला अदालतले हत्यामा संलग्न १३ जनामध्ये ढकाल, प्रेमध्वज खत्री (प्रशान्त गौतम भनिने), छविलाल बस्नेत (विशाल), मोहनलाल खड्का (नवराज खत्री भनिने) लाई सर्वस्वसहित जन्मकैद फैसला सुनाएको थियो।

घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल जिल्ला कारागार, दाङबाट छुटेका थिए ।

रिगलको कैद माफीका लागि कांग्रेस नेताहरुको जोडबल थियो ।

सर्वस्वसहित जन्मकैदमा कानुनअनुसार २० वर्षसम्म कैद बस्नुपर्छ। मुलुकी ऐन अर्थात् नयाँ फौजदारी संहिता नआउँदै जन्मकैदको अवधि २० वर्ष तोकिएको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत