कोशी प्रदेशमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई समेत समेटेर मन्त्रिपरिषद् विस्तार भएपछि असन्तुष्ट बनेको एमाले सरकारबाट बाहिरिने तयारी गरेको छ।
सत्ता गठबन्धनले माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारेपछि कांग्रेसका असन्तुष्ट केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले पुनः केन्द्रीय गठबन्धनकै आदेशमा चलेको भन्दै सरकारबाट बाहिरने तयारी गरेको हो।
कार्की संविधानको धारा १६८ (५) अनुसार एमालेसहितको समर्थनमा असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। सोही दिन उनले कांग्रेस र एमालेका एक/एक जनालाई मन्त्री नियुक्त गरेका थिए।
एमालेबाट रामबहादुर राना मगर र कांग्रेसबाट शमशेर राईलाई मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुखले मन्त्रीको शपथ गराएका थिए।
तर शुक्रबार आफूहरूसँग कुनै छलफल नगरी सरकार विस्तार गरेपछि रानाले राजीनामा दिने नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले दाबी गरे।
कोशीको राजनीतिक परिस्थिति फेरिएसँग शुक्रबार साँझ नेपालखबरसँग कुराकानी गर्दै भण्डारीले आफ्नो पार्टीबाट मन्त्री बनेका राम रानाले राजीनामा दिने निश्चित भएको दाबी गरेका हुन्।
मुख्यमन्त्री कार्कीले शुक्रबार साँझ माओवादीका गणेश उप्रेती र समाजवादीका जबेगुलाई मन्त्री नियुक्त गरेका छन्। दुवै मन्त्रीले प्रदेश प्रमुखसमक्ष शपथ लिइसकेका छन्।
उनीहरूको मन्त्रालय भने तोकिएको छैन। एमालेले भने आफूहरूसँग सल्लाह नभई सरकार पुर्नगठन भएको भन्दै असन्तुष्टि जनाएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ