प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्कालाई तानेको छ । एसपी खड्कालाई अपराध अनुसन्धान विभागमा तानिएको प्रधान कार्यालयले जनाएको छ ।
खड्काको ठाउँमा अर्को एसपीलाई जिम्मेवारी दिइसकेको भने छैन । आरती शाह मृत्यु प्रकरण मुद्दामा विवादमा तानिएपछि एसपी खड्कालाई धनुषाको जिम्मेवारीबाट हटाइएको स्रोत बताउँछ ।
धनुषामा मृत अवस्थामा फेला परेकी आरती शाहको परिवारलाई गृह मन्त्रालयले वार्तामा आउन आग्रह गरेको छ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वकीय सचिव विजय गौतम सोमबार संवादका लागि आग्रह गर्न माइतीघर मण्डलास्थित धर्नास्थलमा पुगेका हुन्।
आरती शाहको धनुषामा मृत्यु भएको थियो। मृत्यु शंकास्पद भएको र अनुसन्धानको क्रममा धनुषाका एसपी विश्वराज खड्का सहितका प्रहरी अधिकृतहरुले कुटपिट गरेको पीडित परिवारले दाबी गरेका छन्।
खड्का सहितका प्रहरी अधिकृतहरुलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै शाहका बुवा र आमासहित परिवारका सदस्यहरु १ सय ४४ दिनदेखि काठमाडौँमा धर्ना बसिरहेका छन्। यसबारे प्रहरीका डिआईजी विकाशराज खनाल नेतृत्वका टिमले छानबिन गरिरहेको छ।
आरतीको हत्या गरेको आरोपमा प्रहरीले उनको श्रीमान् र ससुरालाई पक्राउ गरेको थियो । उनीहरु अहिले पुर्पक्षका लागि थुनामा छन्। आम जनता पार्टीका कार्यालय सचिव रन्जु कुमारी शाहको पहलमा गृह मन्त्रालय र पीडित परिवारको बीचमा संवादको सुरुवात भएको बताइएको छ।