बुधबार, मंसिर १३, २०८०

बर्दीको आडमा प्रहरीको लुटपाट : इसेवामा घुस, धम्काएर ४७ हजार !


कान्तिपथ


प्रहरीकै मिलेमतोमा काठमाडौंमा लुटपाट भएको छ । लुटपाटमा संलग्न तीन प्रहरीसहित पाँचजनालाई पक्राउ गरी डाँका चोरी मुद्दा दायर भएको छ । लुटपाटमा प्रहरी सहायक निरीक्षक सुनबहादुर तामाङ, प्रहरी सहायक हवल्दार खगराज अधिकारी र प्रहरी जवान भुवन बराल पक्राउ परेका हुन् । उनीहरूले एक महिनाअघि मदन पुरी र सन्तोष पुरीसँग मिलेर लुटपाट गरेका हुन् । पाँचैजनाविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

उनीहरूले २१ असोजमा बर्दीको आडमा लुटपाट गरेका हुन् । निजी गाडीमा ठमेलबाट बालुवाटार जानेक्रममा कुमार रोका र नवराज नगरकोटीलाई रोकेर लुटपाट गरेका हुन् । उनीहरू राति साढे ११ बजे छुट्टाछुट्टै गाडीमा बालुवाटार जान लागेका थिए । रोकाको गाडीमा तीनजना युवती थिए । युवतीहरू ‘सप्लाई’ गरी वेश्यावृत्ति धन्दामा लगाएकाले फसाइदिने भन्दै धम्क्याएर प्रहरीसमेतले लुटपाट गरेको पीडितहरूको भनाइ छ ।

पूर्वयोजनाअनुसार पानीपोखरी सडकमा उनीहरूले गाडी रोकेर अपरिचित युवतीलाई कहाँ बेच्न लैजान लागेको भन्दै धम्क्याएका थिए । युवतीलाई नियन्त्रणमा लिई प्रहरीको सिआरभी भ्यानमा राखे । दुवैजनालाई उनीहरूले निर्मलनिवासको गल्लीतर्फ लगेका थिए । जहाँ १७ हजार पाँच सय नगद लुटेका थिए । थप डेढ लाख रुपैयाँ मागेकोमा उनीहरूसँग थिएन । त्यसपछि जबर्जस्ती इसेवामा पैसा हाल्न लगाएका थिए । रोकाको मोबाइलबाट सन्तोष पुरीको नम्बरमा पाँच सय ट्रान्सफर गरेका थिए ।

नवराज नगरकोटीको आइडीबाट २५ हजार ट्रान्सफर गराएका थिए । पैसा लिएपछि उनीहरूले पाँचैजनालाई छाडिदिएका थिए । यसरी धम्क्याएर उनीहरूले ४७ हजार पाँच सय रुपैयाँ लिएका थिए । सोही रकमलाई बिगो बनाई मुद्दा दायर भएको छ । पछि पीडितले उजुरी दिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरेको थियो । घटनालगत्तै उनीहरूले प्रहरी हटलाइनमा जानकारी गराएका थिए । अनुसन्धानका क्रममा घटनामा प्रहरीकै संलग्नता देखिएपछि उनीहरूलाई समेत पक्राउ गरी मुद्दा अदालतमा पुर्‍याइएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए ।

घटनाका योजनाकार मदन पुरी हुन् । उनले नाता पर्ने सन्तोष पुरी र प्रहरीको सहयोगमा उनीहरूलाई धम्क्याएर पैसा उठाउने योजना बनाएका थिए । धम्क्याएर पैसा असुल्ने योजनासाथ उनले नवराज नगरकोटीलाई फोन गरी तीन युवती लिएर आउन भनेका थिए । सोहीअनुसार उनी युवती लिएर गएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत