चितवनको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि बागतमी प्रदेश सरकारले लगानी गर्ने भएको छ । मंगलबार हेटौँडामा बसेको भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबिचको बैठकले उक्त रंगशाला निर्माणका लागि लगानी गर्ने सहमति भएको हो ।
उक्त बैठकले यस अघि भएका आर्थिक क्रियाकलाप र ऋण सम्बन्धी सम्पूर्ण जिम्मेवारी महानगरपालिका र संघीय सरकारले व्यवस्थापन गर्ने निर्णय गरेको छ । बैठकको निर्णय अनुसार छिट्टै ठेक्का आह्वान गरी रंगशाला निर्माणको काम अघि बढाइने तयारी छ ।
उक्त कामका लागि महानगरपालिकाले तयार पारेको लागत अनुमान प्रस्ताव अनुसार ७५ करोड रुपैयाँ लगानी लाग्ने छ। उक्त लागत अनुमानको ७० प्रतिशत बागमती प्रदेश सरकारले व्यहोर्ने र ३० प्रतिशत रकम महानगरपालिकाले व्यहोर्ने सहमति सहित निर्णय भएको छ ।