शुक्रबार, मंसिर १५, २०८०

संसद्को हिउँदे अधिवेशन नयाँ भवनमा चलाउने तयारी


कान्तिपथ


काठमाडौँ । शहरी विकास मन्त्रालयले निर्माणाधीन संघीय संसद् भवन निर्माणको हालसम्मको प्रगति र त्यहाँ रहने प्राविधिक पक्षबारे सभामुख र संसद् सचिवालयलाई जानकारी गराएको छ । 

शहरी विकास मन्त्रालयद्वारा भवन निर्माणको प्रगति र प्राविधिक पक्षबारे जानकारी दिन सिंहदरबारमा आज आयोजित कार्यक्रममा शहरी विकासमन्त्री सिता गुरुङले हिउँदे अधिवेशनसम्ममा मुख्य भवन निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो । 

मन्त्री गुरुङले संघीय संसद् भवन निर्माणको काम सोचे जसरी काम हुन नसकेपनि हिउँदे अधिवेशन नयाँ भवनमा नै चलाउने गरी द्रुत गतिमा काम भइरहेको बताउनुभयो । 

मन्त्री गुरुङले  निर्माणाधीन संघीय संसद् भवनमा जडान गरिने प्राविधिक पक्षबारे जानकारी दिनुहुँदै भवन निर्माणका काम राम्रो होस भनेर छलफल राखिएको बताउनुभयो । 

छलफलमा सभामुख देवराज घिमिरेले संसद् भवनमा जडान हुने प्रविधिबारे घनिभूत छलफल हुनुपर्ने बताउँदै संसद् सचिवालयका प्राविधिकलाई जडानकै क्रममा संलग्न गरिनुपर्ने बताउनुभयो ।

सभामुख घिमिरेले हिउँदे अधिवेशन नयाँ संसद् भवनमा सञ्चालन गर्न चाहेको बताउँदै निर्माणाधीन संसद् भवनका मुख्य भवन २ महिनाभित्र सकिन्छ/सकिँदैन भन्ने आफ्नो जिज्ञासा रहेको बताउनुभयो ।

छलफलमा संसद् सचिवालयका कर्मचारीहरूले त्यहाँ जडान गरिने प्राविधिक पक्षका बारेमा जिज्ञासा राख्नुभएको थियो ।  

कार्यक्रममा संघीय संसद् भवन निर्माण आयोजनाका प्रमुख मच्छकाजी महर्जनले १ सय ५१ रोपनी क्षेत्रफलमा निर्माणाधीन संघीय संसद्का ११ वटामध्ये ७ वटा भवनको छानासम्मको काम भइसकेको जानकारी दिनुभयो । 

आयोजना प्रमुख महर्जनले ७५ प्रतिशत काम भइसकेको जानकारी दिनुहुँदै हिउँदे अधिवेशनसम्ममा राष्ट्रिय र प्रतिनिधिसभाका लागि मुख्य दुई वटा भवनसहित ५ वटा भवन बनाइसक्ने तयारी रहेको बताउनुभयो । 

छलफलमा संघीय संसद् भवनमा प्रयोग हुने कन्फरेन्स सिष्टम र साउण्ड सिष्टमलगायतका प्रविधिहरूबारे सम्बन्धित कम्पनीका प्रतिनिधिहरूले जानकारी गराएका थिए । 

छलफलमा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, महासचिव भरतराज पौड्याल, सचिवद्वय सुदर्शन खड्का र रोजनाथ पाण्डेलगायत संघीय संसद् सचिवालय र शहरी विकास मन्त्रालयका कर्मचारीहरूको सहभागिता रहेको थियो । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत