बिहिबार, मंसिर १४, २०८०

किर्तेवाला जर्नेललाई कारबाही गर्ने कि फूली थप्ने ?


कान्तिपथ


नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले किर्ते गरी उमेर सच्याएको आरोप लागेका उपरथी ताराध्वज पाण्डेलाई रथीमा बढुवा सिफारिस गर्ने पक्कापक्कीजस्तै भएको छ। पाण्डेले शैक्षिक प्रमाणपत्र र नागरिकता प्रमाणपत्रमा नाम सच्याएको विषयमा जंगीअड्डा र संसदीय समितिमा उजुरी परेको छ।

जंगीअड्डा पाण्डेको शैक्षिक र नागरिकता प्रमाणपत्रमा किर्ते गरेको विषय छानबिन नगरी बढुवा सिफारिस गर्ने निष्कर्षमा पुगेको एक उच्च सैन्य अधिकारीले जानकारी दिए। रथीमा बढुवा हुने व्यक्ति आगामी प्रधानसेनापति बन्ने भएकाले त्यसमा सबैको चासो देखिएको हो। यता केहि कानुन व्यवसायी भने सर्वोच्चमा रिट लिएर जाने तयारीमा जुटेका छन् ।

जंगीअड्डाका उच्च अधिकारीहरूले बढुवाको सिफारिस गर्नुअघि केरमेट भएको शैक्षिक प्रमाणपत्र छानबिन गर्नुपर्ने सुझाव प्रधानसेनापति शर्मालाई दिँदै आएका छन्।

प्रधानसेनापति शर्मा अध्यक्ष रहेको बढुवा समितिले सेनाको युद्धकार्य निर्देशनालयका महानिर्देशक पाण्डेलाई रथीमा बढुवाका लागि सिफारिस गर्न सूचना जारी गरेको थियो। त्यसमा उजुरी नपरेपछि अब प्रक्रियागत ढंगले अघि बढ्न लागेको जानकारी सेनापति शर्माले आफ्ना निकटस्थलाई सुनाएका छन्।

पाण्डे सेनाको वरीयतामा सबैभन्दा वरिष्ठतम् उपरथी हुन्। सिफारिस भएमा उनी रथीमा बढुवा हुने निश्चित छ। शर्माको योजना भाबी प्रधानसेनापतिका रूपमा पाण्डेलाई अघि बढाउने भएकाले यस विषयमा राजनीतिक नेतृत्व गम्भीर हुनुपर्ने कुरा सेनाभित्र उठ्न थालेको ती सैन्य अधिकारीले बताए।

पाण्डेपछि बढुवा हुने सूचीमा उपरथी अशोक सिग्देल छन्। दुवै सैन्य अधिकारी एकै ब्याजी हुन्। रथी सरोजप्रताप राणाको सेवाअवधि केही दिनअघि सकिएको छ। सोही कारण पाण्डे सिफारिस हुन लागेका हुन्। अर्का तीनतारे जर्नेल रथी सीताराम खड्काले पुस ३ गते अवकाश पाउनेछन्।

पाण्डे सेनाको सम्भाररथी, सैनिक गुप्तचर विभाग सम्हाल्दै अहिले सबैभन्दा शक्तिशाली मानिने अपरेसन विभाग प्रमुख छन्। सैनिक ऐनले रथी बढुवाका लागि सिफारिस गर्ने अधिकार प्रधानसेनापतिलाई दिएको छ। प्रधानसेनापतिले सिफारिस गरेपछि रक्षा मन्त्रालय हुँदै मन्त्रिपरिषद्ले बढुवाको अन्तिम निर्णय लिनेछ।

प्रधानसेनापति शर्मा आगामी भदौ २४ मा अवकाश जानेछन्। त्यसपछि अहिले बढुवा भएका रथीलाई प्रधानसेनापति बन्ने बाटो खुल्नेछ। सच्चाइएको नागरिकताअनुसार उपरथीको पाण्डेको पदावधि मंसिर २३ सम्म छ। सेनाको अर्को रथी पद पुस ३ मा मात्र रिक्त हुनेछ। उक्त पदमा उपरथी सिग्देल बढुवा हुनेछन्। तर अहिले छानबिन भएमा रोलक्रम परिवर्तन हुनेछ।

पाण्डेले उमेर घटाएर बनाएको नागरिकताका आधारमा जागिर खाएको र उनी अवकाशमा गइसक्ने बेलामा रथी बढुवा गरेर प्रधान सेनापतिको लाइनमा राख्न खोजिएपछि उनको प्रमाणपत्रमा समेत केरमेट गरेको प्रमाणहरू सार्वजनिक भइसकेका छन् ।

प्रधान सेनापतिको रहस्यमय जोडबलकै कारण ताराध्वजको उमेर कीर्तेको प्रकरण सामसुम पार्न खोजिएको उच्च अधिकारीहरू बताउँछन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि संसदको राज्य व्यवस्था तथा सुशासन समितिले समेत गम्भीर रूपमा लिएको उजुरीको किनारा नलाग्दै पाण्डेलाई रथीमा बढुवा गर्न जंगी अड्डाबाट प्रस्ताव तयार पार्न लागिएको स्रोतको दाबी छ ।

२०३८ साल देखि २०४२ साल चैत्रसम्म २०२१/१०/१२गते जन्ममिति भएका पाण्डेले जागिर खाने बेला एसएलसी पास गरेको ४ वर्षपछि जन्म मिति सच्याएर २०२३ माघ २३ को मिति राखेर अर्को नागरिकता लिएको प्रमाण बाहिर आइसकेको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार ४ वर्षपछि अव्यवहारिक रूपमा २ वर्ष उमेर घटाउनु आफैमा कानुन विपरीत हुन आउँछ । शैक्षिक प्रमाणपत्रमा उमेर सच्याउन परे ६ महिनाभित्र सच्याइसक्नुपर्ने त्यसबेलाका नियम थियो । तर पाण्डेको हकमा ४ वर्षपछि ढड्डामै केरमेट गरेर सच्याइएको पाइएको छ ।

पाण्डेले २ वटा नागरिकता बनाएको प्रमाण पनि सार्वजनिक छन् । नागरिकताको नम्बर समेत (ना.प्र.नं. ३६०८६ र १६८१–१६०८६) दुईवटा हुनु स्वतः कीर्ते हो । उनीमाथि सरकारी कीर्तेको मुद्दा समेत चल्न सक्छ । त्यसो त उनले कीर्ते गरेको उमेरका आधारमा २०३८ सालमा एसएलसी दिने उमेर नै पुग्दैन । यसबाट पनि सबै प्रष्ट हुन्छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत