उमेरको विषयमा छानबिन सुरू भएपछि नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन्।
पाण्डेले बिहीबार साँझ राजीनामा बुझाएको बताईन्छ। रथीमा बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर चौतर्फी प्रश्न उठेको थियो। नागरिकतामा उमेर सच्याएको उजुरी परेपछि सैनिक मुख्यालयभित्रै ३ दिनअघि छानबिन समेत सुरू भएको थियो।
पाण्डे आगामी प्रधानसेनापतिको रोलक्रममा समेत थिए। प्रधानसेनापति प्रभुराम शर्माको २०८१ भदौ २४ गते कार्यकाल सकिए लगत्तै पाण्डे प्रधानसेनापतिको रोलक्रममा थिए।
एसएलसी प्रमाणपत्रमा उनको जन्ममिति २०२१ माघ १२ गते छ। तर, २०४२ चैत २५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंको चलानी नम्बर ७५८८ अनुसार पाण्डेको जन्ममिति २०२३ मंसिर २३ गते कायम गरिएको भन्दै एसएलसीको नतिजा प्रकाशित भएको मिति २०३८ सालको सक्कली ढड्डामा उल्लेख छ।
तर उनको नागरिकता जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०४३ वैशाख ०३ गते जारी भएको देखिन्छ।