बाँके । बाँकेको कोहलपुर नगरपालिकामा रहेका अधिकांश बैंकका एटिएमहरूबाट पैसा ननिक्लिएपछि यती बेला यस क्षेत्रका सेवाग्राहीहरू प्रताडित भएका छन् । आफ्नो खाता भएको बैङ्कको एटिएमबाट नगद ननिस्किएपछि अर्को बैङ्कको एटिएम बुथमा जाँदा पनि उस्तै समस्या देखिएको ग्राहकहरूको गुनासो छ ।
चाडपर्वको समयमा कोहलपुरमा रहेका अधिकांश बैङ्कहरूका एटिएममा पैसा नहुँदा सेवाग्राहीले सास्ती बेहोर्नुपरेको भने यो नयाँ घटना भने होइन, प्राय दसैँ र तिहारमा पैसा नरहने गरेको भुक्तभोगीहरूको दुखेसो रहेको छ।
सोमबार बिहान जरुरी कामले एसआइबी र एनएमबी बैङ्क पुगेका कोहलपुर १० का ५६ वर्षका रामप्रसाद गौतमले गुनासो सुनाउँदै भन्नुभयो ‘सुरक्षाको कारण घरमा नगद राखिएन, एटिएममा पैसा छैन । भरोसा कतै रहेन, खर्चका लागि बनेका योजना अधुरो रहने भए’ गौतमले भन्नुभयो।
यसबारे नेपाल राष्ट्र बैङ्क, नेपालगन्जका प्रवक्ता सुमन कुमार नेपालसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन।