बिहिबार, मंसिर १४, २०८०
  • गृहपृष्‍ठ
  • ब्लग
  • हामी उहाँको प्रतीक्षामा थियौं, उहाँको शहादतको समाचार मात्रै आयो : प्रताप

हामी उहाँको प्रतीक्षामा थियौं, उहाँको शहादतको समाचार मात्रै आयो : प्रताप


कान्तिपथ


हाल छापामार योद्धाको निम्ति सञ्चारको सर्वोत्तम माध्यम नै वि.वि.सि नेपाली सेवा भएको छ । विकट, दुर्गम इलाकाहरूमा न त समयमै पत्रिका पढ्ने अवसर पाइन्छ न त यस्ता क्षेत्रमा घटेका महत्त्वपूर्ण सुखद एवं दुखद घटनाको यर्थाथ समाचार नै पत्रिकासम्म समयमै पुग्नेगर्दछ । हुन त यो सूचना साम्राज्यको युगमा प्रतिक्रियावादी खुनी सत्ताले अशिक्षित न्यायप्रेमी जनताको मनोविज्ञानलाई दिग्भ्रमित पार्नको निम्ति आफ्नो साम्राज्य नचलाएको होइन ।

वर्गीय समाजमा हरेक कुरा वर्गपक्षधर हुनु पनि स्वभाविकै हो । रेडियो नेपाल लगायतका सञ्चार माध्यमहरूबाट सत्यलाई असत्य, सुन्दरलाई कुरुप बनाएर गोयबल्स शैलीमा सयौं झुट भुकिरहेको कटु यथार्थलाई पनि स्वाभाविकै मान्नुपर्ने हुँदोरहेछ । यस्ता बकबासपूर्ण समचारले नै प्रतिक्रियावादी सत्ता दिन प्रतिदिन नालायक, झुट्टा, भ्रष्ट र अनैतिक बन्दै गएको दिन जतिकै छर्लङ्ग भएको छ । महान् जनयुद्धको विकासको उच्चतासँगै फासीवादी सत्ताप्रति जनताको विश्वास र आस्था विद्युतीय गतिमा क्षीण हुँदै गएको सकारात्मक पृष्ठभूमिमा भने सरकारी कथित सञ्चार माध्यमले अख्तियार गरेको शैलीप्रति सन्तोष व्यक्त गर्नुपर्ने नै हुन्छ । प्रतिक्रियावादी शासकहरूले आफ्नो निम्ति खाडल आफैले खन्छन् भन्ने कुरालाई राम्रैसँग पुर्याई राखेका छन् ।

ती सबै कुराको बावजुद पनि वि.वि.सि नेपाली सेवाले देशको महत्त्वपूर्ण सुखद एव दुखद समाचार दिएर आफ्नो प्रतिष्ठालाई सुरक्षित राख्न सफल भएको मान्नुपर्ने हुन्छ । वास्तवमै हामी छापामार योद्धाहरूको निम्ति यो सेवा आभारी देखिन्छ । यद्यपि उसले आफ्नो वर्ग दृष्टिकोणको आधारमा घटनालाई विश्लेषण गरेको हुन्छ । जब कि वस्तु र घटनासँग मात्रै परिचित हुनसकेपछि द्वन्द्वात्मक भौतिकवादको आधारभूत ज्ञान भएका क्रान्तिकारी जो कोहीले पनि त्यसको सारतत्त्वलाई सहजपूर्वक संश्लेषण गर्न सक्छन् ।

शायद मङ्सिर महिनाको तीन गते थियो कि क्या हो ? हामी सधैं के त्यो दिन पनि पौने ९ बजे पर्खिराखेका थियौं । पौने ९ बजेको समाचारमा “ओखलढुङ्गामा तीन सन्दिग्ध माओवादीको मृत्यु” को समाचारले एकाएक हामी सबैको मुटुमा बाह्रभोल्टको करेन्टले झड्का दिएको अनुभूत भयो । हामी सबैका आकृति एकैसाथ बिग्रिए, सेल्टरमा एक्कासी सन्नाटा छायो तर वि.वि.सि. भने आफ्नै सुरमा बजिरहेको थियो । त्यसपछि के–के भयो ? शायद हामी कसैले पनि ख्यालराख्न सकेनौं। हाम्रो मौनताकै बीचबाट एकैसाथ कसलाई माय होला ? ओहो ! को–को पर्नुभयो होला ? जस्ता निरुत्तरित प्रश्नहरू मात्रै आइरहे ।

मैले सरसर्ती एकपटक ओखलढुङ्गा जिल्लालाई आफ्नो मानसपटलमा घुमाएँ । त्यहाँ हामीलाई अथाह माया गर्नुहुने आदरणीय जनताहरूलाई सम्झने कोसिस गरें । अनि अत्यन्तै षडयन्त्रकारी, भ्रष्ट, पाखण्डी ने.का. र एमालेलाई सम्झें । त्यसपछि, मेरो मन एकदम उद्वेलित बन्यो । विगतकालमा त्यहाँका प्रतिक्रियावादी ने.का. र एमालेका छाउराहरूले सुराकी गरेर दुस्मनसँग भिड्नुपरेको घटनाको सचित्र याद आयो र घेरा तोड्ने क्रममै सोमप्रसाद पराजुलीले शहादत प्राप्त गर्नुभएको ऐतिहासिक दुखद क्षणको स्मरण भयो ।

कति नीच र पटमूर्ख छन् ! ती ओखलढुङ्गाका फटाहहरू बिहानको सूर्यलाई हत्केलाले छेक्न खोजेर छेकिन्छ र ? अहँ ! विल्कुल छेकिंदैन । के भुवन, टिके, झिले जस्ता नरपिचासहरूले छेक्नखोजेका होइनन् र ? महेन्द्र श्रेष्ठ र सोमप्रसादको रगत नसुक्दै धुलो चाट्नपरेको घटनालाई सबकको रुपमा ग्रहण नगर्ने कति अन्धा छन् तिनीहरू…? टिम्मुरबोटे हत्याकाण्डका नायकहरू रातारात कोही कांग्रेस त कोही एमाले बनेका छन् । कति बिडम्बनापूर्ण छ, त्यहाँको पृष्ठभूमि ? विद्रोही यज्ञबहादुर (कप्तान) लाई भाग्दै गर्दा ब्राह्मन पुजारीले गिरफ्तार गराएको थियो । के त्यसको प्रायश्चित दुई दशकपछि पनि माओवादी छापामारबाट व्यर्होनुपरेन र ?

मेरा मनमा यस्तै–यस्तै कुरा सलबलाउन थाले । मैले एकपटक मेरा परिचित सहकर्मी योद्धाहरूलाई स्मरण गरें । आखिर जो ढले पनि जनताका योद्धा ढलेका थिए । युद्ध अभियानमा लामबद्ध हुनुभएका नयाँ युगका संवाहक वीर सपूत ढलेका थिए । केही दिनभित्रै त्यहाँका कमरेडहरूसँग हाम्रो भेट हुने प्रायः निश्चित थियो । हाम्रो सञ्चयको समय ग्रुजिन हामीलाई निकै मुस्किल पर्यो हरक्षण हरपल त्यही अपुष्ट वि.वि.सि.को समाचार याद आइरह्यो । केही भयो । दिनको अन्तराल पश्चात् त्यहाँबाट …. कमरेडले मलाई पत्र पठाउनु “ रगनीको भिडन्तमा क. जीवन, क. हेमन्त र क. शिशिरले शहादत प्राप्त गर्नु भयो……।” पत्र खोलेर सबै पृष्ठभूमि पढन नपाउँदै मेरा आँखा तिनै तीन शब्दमा परेछन् । अहँ ! मैले पत्रलाई अगाडि बढाउन सकिन ।

मलाई त्यो पत्रप्रति अविश्वास उत्पन्न भयो । तर घटना वास्तविक थियो । क. जीवनको प्रतीक्षामा रहेका हाम्रा आँखा उहाँहरूको शहादतको खबर पढेर आक्रोशित भए । क. जीवन(प्रलाद गौतम) ओखलढुङ्गा सोलु र खोटाङको जिम्मेवार सेक्रेटरियट सदस्य हुनुहुन्थ्यो । क. हेमन्त (केशव रिमाल) पनि सोही जिल्लाकै जिम्मेवार डि.सि. एम. हुनुहुन्थ्यो । त्यस्तै क. शिशिर ( डोडहरी) एक होनहार छापामार सदस्य हुनुहुन्थ्यो । उहाँहरूको शहादतको समाचारले मेरो मनमा गहिरो पीडा र जलनले भत्भती पोलेको अनुभूत भयो । मेरो गलाहरू अवरुद्ध भयो । हामी निश्चित कामको लागि फरमेसनमा निस्तब्ध रातलाई चिर्दै छापामार चालमा हिंडेका थियौं । पत्रको खबरले हामी सबैका गला अवरुद्ध बनेर पाइला अगाडि बढ्न किञ्चित मानेन् । हामी सबै आ–आफ्नो ठाउँमा थचक्क बस्यौं, अँध्यारोमा मुट्ठीहरू कस्यौं, दाह्रा कटकट चपायौं । अहँ ! हाम्रो बीचमा त्यो परिस्थितिलाई चिरेर नेतृत्त्व गरेर अगाडि लैजाने कोही निस्केन । केही समयपछि हामी नजिकको स्थानीय पार्टी कार्यकर्ताको घरमा गयौं । स्थानीय कार्यकर्ता र जनताले रुवाबासी गर्न थाल्नुभयो ।

हाम्रा मनहरू पनि भकानिएका थिए । तर, भावनामा बगेर म आफ्नो औपचारिक दायरालाई तोड्नसक्ने स्थितिमा थिइन, अपितु जनतालाई सम्झाउँन थालें । यो युद्धको क्षेत्र भनेको अनिश्चितताको क्षेत्र हो । हामी हार, जीत, क्षति उपलब्धिका बीचबाट रक्तिम गोरेटाहरू कोरिराखेका छौं । हाम्रा श्रद्धेय महामन्त्रीले यिनै गहन् र संश्लेषित अनुभूति राख्ने क्रममा भन्नुभएको छ । “हामी हाँस्द हाँस्दै रोएका छौं, रुँदारुँदै हाँसेका छौं ।” निश्चय नै आँसु र हाँसोको अनन्य अनुभूतिले हाम्रो पार्टीलाई गौरवशाली बनाएको छ । महान् जनयुद्धलाई बेलगाम अगाडि बढाइरहेको छ । बलिदान नै क्रान्तिको उर्जा बनेर हाम्रो मार्ग निर्देशन गरिराखेको छ । त्यसैले आँसु होइन, आक्रोस जन्माउनु पर्छ । शोकलाई शक्तिमा रुपान्तरण गर्न सक्नुपर्छ । १५०० भन्दा बढ्ता नेपाली आमाका सर्वोत्तम छोराछोरीको रगतले नै हामीलाई जुझारु, एकताबद्ध र स्पातिलो बनाउँदै लगेको छ ।

केही समयपछि उपस्थित हुनुभएका सबै स्थानीय कमरेडहरू आ– आफ्नो छाप्रातर्फ लाग्नुभयो । हामीले भने त्यही ठाउँमा बस्ने निर्णय गर्यो। घडीमा घण्टा र मिनेटको सुईले १२ लाई ठोकेको थियो । राती उठेर विशेष काममा जुट्नुपर्ने थियो । त्यसैले हामीले केही समय आराम गर्ने निधो गयौं । ओछ्यानमा पल्टेको कति समय भयो तर आँखाको डिल वरिपरि महोदय कमरेडहरू क. जीवन, क.हेमन्तको आकृति घुमिरहे । अहँ ! विल्कुल बिर्सन सकिन ।

अँ ! बिर्सन पनि कसरी सकिन्थ्यो र ? क. हेमन्त मेरो बाल्यकालदेखि नै राजनीतिक सहयात्री हुनुहुन्थ्यो । उहाँ अन्यन्तै तीक्ष्ण, दूरदर्शी र चतुर व्यक्तिको रुपमा परिचित हुनुहुन्थ्यो। पूर्व संशोधनवादको गढ हो । त्यसमध्ये पनि दोलखालाई एमालेहरू दोस्रो झापाको रुपमा चिनाउने गर्दछन् । तर, खुसीको कुरा संशोधनवादको गर्भबाटै क्रान्तिकारी योद्धाहरू जन्मिएर क्रान्तिकारी धारालाई निरन्तररुपमा अगाडि बढाएइरहेका छन् । यसरी संशोधनवाद हुँदै दोलखाका दर्जनौं युवाहरूले विद्रोह गरेर क्रान्तिकारी गतिविधिलाई तीव्र पार्न सफल भएका थिए । ती विद्रोही युवाहरू मध्येको एक सशक्त प्रतिभा नै क. दशक हेमन्त हुनुहुन्थ्यो ।

सो समयदेखि वर्षौंसम्म उहाँ र म संयुक्त भएर संशोधनवाद र प्रतिक्रियावादसँग जुझ्दै आएका थियौं । हाम्रो बीचमा गहिरो भावनात्मक सम्बन्ध गाँसिएको थियो । एकले अर्कोलाई बुझ्ने र सच्याउने कुरामा हामी असाध्यै मेहनत गर्दथ्यौ । आज मैले संझिराखेको छु, चरिकोटको ढुसी परेको कोठामा चामल किन्ने सुको नभएर हप्तौसम्म हेमन्त, क. विश्व र म निलाहार भएर बसेको । लामीडाँडा, च्यामा र डाँडाखर्कमा पटुका कसेर जनताको घर– घरमा घुम्दै जनतालाई ब्युँताउन सँगसँगै हिडेको क्षण याद आइरहन्छ ।
उहाँमा साहित्य र दर्शनको निकै राम्रो अध्ययन थियो । वास्तवमा उहाँसँग भएको क्षमता हाम्रो पार्टीको सामूहिक निधि थियो । जीवनको आरोह– अवरोहको क्रममा उहाँ र हाम्रो सुन्दर सरल यात्रा केही वर्ष अवरुद्ध भयो । तर पनि उहाँप्रति समयमा परेको छाप र प्रेम दिलबाट कहिल्यै हराएन । बरु तिर्खाको समयमा पानीको तीव्र महसुस भए भै उहाँप्रतिको साथीत्व र भावनात्कताले मात्रै हाम्रो वीचको एकता कायम गर्न असंभव थियो । वैचारिक एकताविनाको सम्बन्ध कोरा आदर्श सावित हुन्थ्यो ।

महान् जनयुद्धको थालनी सँगसँगै हाम्रो बीचमा दरिलो विचारधारात्मक एकता कायम भयो । हाम्रा बीचमा कायम भएको विचार, वैचारिक र कार्यनीतिक एकताले भावनात्मक सम्बन्धमा पनि अर्को गुणात्मक उँचाइमा पुर्याउन सफल भयो ।

अहँ ! उहाँ कति राम्रो छलफल गर्नुहुन्थ्यो । साँच्चिकै प्रतिक्रियावादी र संशोधनवादी वुर्जुवाहरूको निम्ति त उहाँ धारिलो खुकुरी नै हुनुहुन्थ्यो । हँसिलो अनुहार, छोटो कद, झल्झली मेरो दिमागमा घुमिरहेको छ । उहाँ एक सिद्धान्तनिष्ठ जोदाहा र कर्मठ योद्धा हुनुहुन्थ्यो । जनताको प्रिय नेता हुनुहुन्थ्यो । साना बालकदेखि बृद्धसम्म उहाँको उत्तिकै राम्रो सम्बन्ध थियो । उहाँ दोलखामा मात्रै होइन ओखलढुङ्गा, रामेछाप, सोलुका निश्चित भुभागमा समेत उहाँ सुपरिचित नेता हुनुहुन्थ्यो । यहाँसम्म कि क. हेमन्तलाई टाढैबाट बच्चा बृद्धले मात्रै होइन जनताका हरेक घरका कुकुरले समेत प्यारो मान्दथे । क. हेमन्तलाई कहिल्यै कुकुरले भुक्दैनथ्यो ।

त्यस्तै क. जीवन एक अवस्मिरणीय पात्र हुनुहुन्छ । उहाँ अत्यन्तै इमान्दार, अनुशासित, कर्तव्यपरायण जुझारु र सिद्धान्तनिष्ठ एक भर्भराउँदो र फकँदो प्रतिभाशाली युवा हुनुहुन्थ्यो । १५ वर्षको कलिलो उमरमै आफ्नो गाउँ बुबा र काकाहरूलाई पुलिसले पक्रन खोज्दा राइफल खोसेर आफ्नो विद्रोहीपनको पचिय दिनुभएको थियो । त्यही राइफल खोसेको अभियोगमा उहाँलाई राज्यविप्लव र सा.सु. मुद्दा लगाई जेलमा बन्दी बनाइयो । झनै उहाँको निर्दोष आत्माले विद्रोहका पाठहरू पढ्न पाए । जेलबाट निस्कनेवित्तिकै उहाँ जनछापामार दलमा भर्ती हुनुभयो ।

उहाँ ओखलढुङ्गा, दोलखा, सोलु र रामेछापमा चार वर्षसम्म निरन्तर काम गर्दै आउनुभएको थियो । उहाँका बुबा–आमालाई दुस्मनले गाउँबाट विस्थापित गयो । तर अहँ ! उहाँमा कहिल्यै निराशाले छोएन । अपितु झनै वर्गदुस्मनप्रति आक्रोशको ज्वाला बनेर दन्किरहनुभयो । ०५३ सालमा उहाँसँग मेरो पहिलो चोटि भेट भएको थियो । उहाँले कयौं दिन रुँदै बाल्यकालमा सामन्ती हजुरबुवाले आफ्नी सोझी आमा र आफूलाई शोषण गरेर पढ्नबाट बञ्चित गराएको कहानी सुनाउनुहुन्थ्यो । त्यतिमात्रै नभएर पुष्कर गौतम जो उहाँको स्वयं काका थिए । उनमा निहित गलत सोच, शैली र आचरणलाई नग्याँउने, पर्दाफास गर्ने क्रममा पनि उहाँले पार्टीलाई ठूलो सहयोग गर्नुभएको थियो । पुष्कर उहाँलाई हमेसा हेला र अपमानको दृष्टिले व्यहार गर्दथे । तर, इतिहास तिनै व्यक्तिहरूको हुनेगर्दछ, जसले हाँसी–हाँसी देश र दुनियाँको निम्ति आफ्नो जीवनको आहुति दिने गर्दछन् । वीरहरू दृढतापूर्वक लड्छन्, कायरहरू घुँडा टेक्छन् र गद्दारहरू धोका दिन्छन् भने वीरयोद्धा क. जीवनले रगनीमा दुस्मनसँग भिड्दा भिड्दै आफ्नो अमूल्य प्राणको उत्सर्ग गर्नुभयो। तर, एउटै परिवारका पुष्कर गौतम जस्ता गद्दारहरू दुश्मको सामु घुँडा टेकेर पार्टी र नेतृत्त्वको बफाँई गरेर बाँचेका छन् ।

ओहो ! जीवन र मृत्युको परिभाषा कति फेरिएको छ । आफ्नो परिवार र जीवनको निम्ति बाँच्ने लाछी कायरहरू बाँचेर पनि मरेतुल्य छन् । तर, आफ्नो वर्ग, राष्ट्र र जनताको हितमा मर्नेहरू मरेर पनि बाँचिरहेका छन् । क. जीवन, क. हेमन्तले आफ्नो साथमा ९–१० जनाको एम्बुस ग्रुप लिएर जानुभएको थियो । दुस्मनलाई एम्बुसमा पारेर सखाप पार्नको निम्ति उहाँले हप्तौसम्म निरन्तर प्रयत्न गर्नुभयो । जब कि कायर कुत्ताहरूले छापामारको एम्बुसमा पर्ने त्रासले हप्तौसम्म विल्कुल चहल–पहल नै गरेनन् । जब उहाँहरू आफ्नो योजनालाई स्थगित गरी सम्पर्कमा हिंडिराख्नुभएको थियो त्यही क्रममा मङ्सिर १ गते दिउँसो खाना खाएर आराम गरिरहेको समयमा घेरा हालेर तीन होनहार योद्धाहरूको रगत पिए। उच्च साहस भावका साथ दुस्मनको प्रतिरोध गरेर घेरा तोड्ने क्रममा शहादत प्राप्त गर्नुभयो । अन्य सबै कमरेडहरू घेरा तोडेर सकुशल सम्पर्कमा आउन सक्नुभयो ।

ती अमर, वीर योद्धाहरूले दुस्मनको सामु किञ्चित आफ्नो शिर झुकाउनु भएन । बरु आफूसँग युद्धसामग्री छउन्जेल घरभित्रैबाट लडिरहनुभयो । जब आफूसँग भएका युद्ध सामग्री समाप्त भए त्यसपछि दुस्मनलाई खुकुरीले छप्काउन पुग्नुभयो । ढोकाबाट बाहिर निस्कने क्रममा कायर कुत्ताहरूले तीन योद्धाहरूलाई ढोका र पिंढीमै डङरङ्ग ढाले । अन्य सबै कमरेडहरू त्यही मौकामा घेरा तोड्न सफल बन्नुभयो । ढलेका तीन योद्धाहरूले आफ्नो प्राण पखेरु छउन्जेल जनयुद्ध जिन्दावादका नारा घन्काइरहनु भयो ।

ओहो ! आज जन्म र मृत्यु कति सरल भएको छ । जीवनलाई जटिल बनाएर बुझ्ने कायरहरूलाई १५०० ÷ १६०० महान् शहीदहरूको रगतले पाठ सिकाएको छैन र ? मान्छे जन्मन्छ, मर्छ, यो स्वभाविक प्रक्रिया हो । मानिस एक दिन जन्मन्छ, तर उसको जन्म र मृत्युको मूल्यबोध त्यतिखेर हुनेगर्दछ, जतिखेर यो हेरिन्छ कि उसले जन्म र मृत्युको बीचमा कसरी जियो । देश र दुनियाँको निम्ति जियो वा आफ्नो नीच स्वार्थको निम्ति जियो । वास्तवमै हाम्रा क. हेमन्त, क. जीवन जस्ता वीरयोद्धाहरू बाचुन्जेल कहिल्यै पनि आफ्नो निहित कुत्सित स्वार्थको निम्ति जिउनुभएन । देश र दुनियाँको निम्ति सङ्घर्षशील जीवन जिउनुभयो । दुस्मनको छातीमा बम, बारुद र गोली बनेर जिउनुभयो । दुस्मनका किल्लाहरूलाई थरथरी हल्लाएर जिउनुभयो । जनताका दुस्मनको मृत्युको वारेन्ट बनेर जिउनुभयो । आफ्नो महान् कर्तव्यपथमा निरन्तर लाग्ने क्रममा उच्च शहादत प्राप्त गरेर जिउनुभयो ।

आज कायर दुस्मनहरू जनताका प्रिय नेताको हत्या गरेर क्षणिकरुपमा आनन्दको सास फेरेको अभिनय गर्न सक्छन् तर हाम्रा अग्रज वीरयोद्धाहरू कहिल्यै मेरका छैनन्। बरु दृष्टिक्षितिजबाट महान् युद्धलाई मार्गनिर्देशन गरािख्नुभएको छ। पोकली र रगनीका पाखाहरूमा रक्तिम फूल बनेर फक्रिराख्नुभएको छ । लिखु, पकलीको झर्ना र लिखुको छङछङ सुसेली गीत, काव्य र साहित्य बनेर बाँचिराख्नुभएको छ । बाँचेका योद्धाहरूलाई इतिहासको अझै गहन भारी बोकाएर बाँच्नुभएको छ । मरेर पनि अहोरात्र बाँचिरहने अमर गोरेटो खनेर जानु भएको छ । हामी बाँचेकालाई जिम्मेवारीको थप भारी बोकाएर अफ्नो कोटा सुरक्षित राख्न सफल हुनुभएको छ ।

(रगनी हत्याकाण्डपछि मंसिर २०५७ मा रितबहादुर खड्का (क. प्रताप) ले लेख्नु भएको लेख उहाँ कै पुस्तकबाट साभार गरिएको।)



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत