नेपाली सेनाले उमेरको विषयमा छानबिन सुरु गरेपछि वरिष्ठ उपरथी ताराध्वज पाण्डेले राजनीमा दिए । रथी बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर प्रश्न उठेपछि प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा सैनिक मुख्यालयभित्रै बलाधिकृत रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति गठन भएको थियो ।
बलाध्यक्ष रथी सरोजप्रताप राणा कात्तिक दोस्रो साता अवकाशमा गएसँगै एक वर्षपछि नेपाली सेनामा नयाँ प्रधानसेनापति को बन्ने भन्ने टुंगो लागिसकेको छैन । सैनिक ऐनअनुसार नेपाली सेनामा वरिष्ठ उपरथीलाई रथीमा सिफारिस गरिन्छ । सोहीअनुसार वरिष्ठ उपरथी पाण्डेको बढुवाको प्रक्रियामा सैनिक मुख्यालयले प्रक्रिया थालेको थियो ।
सैनिक सेवा नियमावलीअनुसार जंगी अड्डाले पाण्डेविरुद्ध ७ दिने उजुरी पनि आह्वान गरेको थियो । पाण्डेको जन्ममिति फरकफरक भएको नागरिकता र शैक्षिक प्रमाणपत्रसहितको फोटोकपी रक्षा मन्त्रालय र अन्य निकायमा पुगेको थियो । उनको जन्ममिति २०२१ साल र २०२३ साल उल्लेख गरिएका दस्ताबेज बाहिर आएका छन् ।
सैनिक स्रोतका अनुसार आफूमाथि उठेका प्रश्नलाई लिएर पाण्डेले सेनाभित्र आफ्नो दस्ताबेजमा २०२३ सालकै जन्म रहेको र सबै दस्ताबेजमा एउटा उमेर रहेको दाबी गरेका थिए । बाहिरको दस्ताबेज र उपरथी पाण्डेको भनाइ बाझिएपछि सेनाले छानबिन सुरु गरेको थियो।
पाण्डे उमेर विवाद भएपछि राजीनामा दिएर उम्किएका छन् । अघिल्लो एक वर्ष नौ महिनाअघि (लगभग २ वर्ष) नै अवकाशमा जानु पर्नेमा प्रधानसेनातिको रोलक्रममा उभिनै लाग्दा उनले राजीनामा दिएर हिँड्नु पर्यो ।
रथीमा बढुवा सिफारिस नभएको भए ५७ वर्ष उमेर हदका कारण यसै पनि पाण्डे मंसिर २२ मा निवृत्त हुने थिए । किनभने उपरथीको उमेर अवधि ५७, रथीको ५८ र महारथीको ६१ वर्ष तोकिएको छ ।
यद्यपि वास्तविक नागरिकतालाई नै आधार बनाइन्थ्यो भने पाण्डे एक वर्ष नौ महिनाअघि नै निवृत्त भइसकेका हुने थिए । एक वर्ष नौ महिनाअघि नै घर जानुपर्ने व्यक्तिलाई राज्यले यतिबेलासम्म गरेको खर्चको दुरुपयोगको जिम्मा सैनिक नेतृत्व र उनी स्वयंले लिनुपर्ने हुन्छ ।
शैक्षिक प्रमाणपत्र र नागरिकताको विवादमा तत्कालीन पूर्वप्रधान सेनापतिद्धय धर्मपालवरसिंह थापा र रुक्माङ्गगत कटवालका छोराहरु क्रमशः उपरथी अजितवरसिंह थापा तथा प्रमुख सेनानी सुक्माङ्गत कटवालले राजीनामा दिएका थिए ।
२०३८ साल देखि २०४२ साल चैत्रसम्म २०२१/१०/१२गते जन्ममिति भएका पाण्डेले जागिर खाने बेला एसएलसी पास गरेको ४ वर्षपछि जन्म मिति सच्याएर २०२३ माघ २३ को मिति राखेर अर्को नागरिकता लिएको प्रमाण बाहिर आइसकेको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार ४ वर्षपछि अव्यवहारिक रूपमा २ वर्ष उमेर घटाउनु आफैमा कानुन विपरीत हुन आउँछ । शैक्षिक प्रमाणपत्रमा उमेर सच्याउन परे ६ महिनाभित्र सच्याइसक्नुपर्ने त्यसबेलाका नियम थियो । तर पाण्डेको हकमा ४ वर्षपछि ढड्डामै केरमेट गरेर सच्याइएको पाइएको छ ।
पाण्डेले २ वटा नागरिकता बनाएको प्रमाण पनि सार्वजनिक छन् । नागरिकताको नम्बर समेत (ना.प्र.नं. ३६०८६ र १६८१–१६०८६) दुईवटा हुनु स्वतः कीर्ते हो । उनीमाथि सरकारी कीर्तेको मुद्दा समेत चल्न सक्छ । त्यसो त उनले कीर्ते गरेको उमेरका आधारमा २०३८ सालमा एसएलसी दिने उमेर नै पुग्दैन । यसबाट पनि सबै प्रष्ट हुन्छ ।
शाहीलाई किर्तेमा कोर्टमार्सल ठोक्ने पाण्डे आफै किर्तेमा फसे !
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ