आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज (आइतबार) भारत र अस्ट्रेलिया भिड्दैछन्। खेल भारतीय राज्य गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा नेपाली समयानुसार दिउँसो २:१५ बजेदेखि सुरु हुनेछ।
विश्वकप क्रिकेटको इतिहासमा भारत र अस्ट्रेलिया दोस्रोपटक उपाधिका लागि भिड्दैछन्। १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनल पुगेको भारत उपाधिका लागि तीव्र दबाबमा छ।
भारतले हालसम्म २ पटक विश्वकपको उपाधि हात पारेको छ। सन् १९८३ मा वेस्ट इन्डिज र २०११ मा श्रीलंकालाई पराजित गर्दै भारतले विश्वकपको उपाधि हात पारेको थियो। अस्ट्रेलियाले भने १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकपको उपाधि चुमेको थियो।
भारतले हालसम्म ३ पटक विश्वकप क्रिकेटको फाइनल खेलेको छ। जसमध्ये २ मा जित हात पारेको छ। अस्ट्रेलियाले ७ पटक फाइनल खेल्दा ५ पटक उपाधि चुमेको छ।