बिहिबार, चैत्र ६, २०८१

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ


कान्तिपथ


आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व समापन गरिएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै धूमधामका साथ छठ पर्व सम्पन्न गरिएको हो।

सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता हो। सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छ।

चार दिनसम्म मनाइने यस पर्वको पहिलोदिन शुक्रबार व्रतालुले नहाय खाए अर्थात् नुहाएर खाने अर्थात् जीउ चोख्याउने काम गरेका थिए। त्यस्तै पर्वको दोस्रो दिन शनिबार खर्ना मनाएका थिए। खर्नाका दिन व्रतालुहरूले दिनभरि निराहार उपवास बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गरेका थिए र राति अरवा अरबाइन (नुन नहालेका) खानेकुरा खाएका थिए।

त्यस्तै षष्ठीका दिन अर्थात् आइतबार साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पिठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशयनजिक बनाएको छठघाट पुगेका थिए।

षष्ठीका दिन हिजो आइतबार साँझ व्रतालुले पानीमा पसेर अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ्य सामग्री पालोपालो गरी अस्ताचलगामी अर्घ्य अर्पण गरेका थिए।

त्यस्तै छठ पर्वको चौथो दिन अर्थात् आज एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्‍याई प्रातःकालीन उदाउँदो सूर्यलाई अर्घ्य दिई छठपर्व सम्पन्न गरेका हुन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत