दोरम्बा शैलुङ गाउँपालिका वडा नं ६ मा एक जना स्थानीय लाई करेन्ट लागेर हेलिकप्टर मार्फत उद्धार गरिएको छ।
रामेछाप जिल्ला दोरम्बा शैलुङ गाउँपालिका वडा नं ६ का तोया नाथ ढुङ्गेल करिब बिहान ८ बजे बारीमा फापर काटन् जाने क्रममा बाटोको हाइटेन्सन लाइनको तार पोलमा सर्ट भई करेन्ट लागेर घाइते हुनु भएको श्री कालिका माविका सहायक प्रधानध्यापक यान प्रसाद ढुङ्गेलले बताउनु भएको छ।
उहाँलाई तत्काल हेलिकप्टर मार्फत उद्धार गरी उपचारको लागि काठमाण्डौ पठाइएको स.प्र. ढुङ्गेलले जानकारी दिनु भयो। घाइतेको किर्तिपुर स्थित बर्न अस्पतालमा उपचार भइरहेको घाइतेका छोरा राजेन्द्र ढुङ्गेल बताउनु भयो ।
विद्युत प्राधिकरणको प्रत्यक्ष निगरानीमा नभई किसान जागरण नामक संस्थाले विद्युत वितरण तथा कारोबार गर्दै आएको र संस्थाको यस्तै लापरवाहीको कारण विगतमा पनि यस्ता घटना घटेको स्थानीयहरु बताउँछन्। विद्युत पोलमा तार अड्ड्याउने माटोको स्ट्यान्ड भाँचिएर तार पोलमा सर्ट हुँदा करेन्ट जमीन सम्म पुगेको र सो कारण करेन्ट लागेको स्थानीय बताउँछन्। स्थानीयले पटक पटक विद्युत पोल सार्न भनी किसान जागरणका अध्यक्ष यसु चौलागाईं लगायत कर्मचारीलाई जानकारी गराउँदा पनि बेवास्ता गर्दा यो घटना भएको र भविष्यमा पनि अन्य घटना घट्ने सम्भावना रहेको स्थानीय बताउँछन्।
किसान जागरण समूहको लापरबाही भने यो पहिलो हैन । पहिले पनि आर्थिक विषयलाई लिएर अख्तियार अनुसन्धान सम्म आर्थिक अनियमितताको मामला पुग्दा समेत राजनीतिक आड र पैसाको भरमा समुहले आफ्नो दादागिरी कायमै राखेको छ। किसान जागरण भन्दा नेपाल विद्युत प्राधिकरणले नै विद्युत महसुल उठाउने, तार तथा पोलहरु व्यवस्थित गर्ने, कर्मचारी खटाउने गरी प्राधिकरणले जिम्मा लिए यस्ता घटना कम हुने स्थानीयले बताए।