मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेको प्रदर्शनमा प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ पर्नेको संख्या आठ पुगेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले पक्राउ पर्नेको संख्या आठ पुगेको बताए। यसअघि प्रहरीले उपत्यकाका विभिन्न ठाउँबाट पाँच जनालाई पक्राउ गरेको थियो।
प्रहरीमाथि आक्रमण गर्ने अन्य व्यक्तिको खोजी जारी रहेकाले पक्राउ पर्नेको संख्या थप बढ्ने प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का पनि छन्। उनलाई फुटुङबाट प्रहरीले पक्राउ गरेको हो।
शान्तपूर्ण रुपमा भइरहेको प्रदर्शनमा उनीहरुले एक्कासी प्रहरीमाथि आक्रमण गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रसाईंको अगुवाईमा बिहीबार भएको प्रदर्शनमा पाँच प्रहरीसहित २८ जना घाइते भएका थिए।
नागरिक बचाउ अभियानका नाममा प्रसाईंले अराजक शैलीमा भाषण गर्नेदेखि प्रदर्शन गर्ने र गणतन्त्र फालेर राजा ल्याउनेसम्म बताउँदै आएका छन्। आज शुक्रबार समेत प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने बताएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने प्रसाईंलाई प्रदर्शनका लागि अनुमति नदिइएको बताएको छ। प्रहरीले भने प्रसाईंको घरलाई वरपरबाट घेरा हालेर बाहिर निस्कन नदिई ‘नजरबन्द’मा राख्ने रणनीति लिएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ