मङ्लबार, माघ २९, २०८१

आईजीपी कुँवर अष्ट्रिया प्रस्थान


कान्तिपथ


प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन आज अष्ट्रिया प्रथान गरेका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा अष्ट्रियाको भियनामा यही मङ्सिर १२ देखि १५ गतेसम्म सञ्चालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसिबी) नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपमशम्शेर जबरा र प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीसमेत त्यसतर्फ प्रस्थान गरेका छन् ।

इन्टरपोलको १००औँ वार्षिकोत्सव मनाउने क्रममा सगरमाथाको सफल आरोहण गरी नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपाली इन्टरपोलको विशेष आह्वानमा महासभामा सहभागी भएका हुन् । इन्टरपोलका सबै एक सय ९५ सदस्य राष्ट्रका प्रतिनिधि सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्त्वपूर्ण विषयमा मतदानद्वारा निर्णय गरिने प्रावधानअनुसार नेपालले पनि उक्त मतदानमा भाग लिनेछ ।

साथै प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधिमण्डल तथा इन्टरपोलका अध्यक्ष–महासचिवबीच शिष्टाचार भेटघाट तथा छलफल हुने कार्यक्रमसमेत रहेको छ । यसैगरी इन्टरपोलको ग्लोबल आउटरिच र क्षेत्रीय समर्थन (जिओआरएस)का प्रतिनिधि तथा मित्रराष्ट्र भारत, चीन र युएईका प्रतिनिधिसँग समेत विविध विषयमा छलफल तथा द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको छ ।

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी महानिरीक्षक कुँवरसहितको टोलीलाई आज बिहान प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरनमा शुभकामनासहित बिदाइ गरेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत