प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्सको दुबई पुगेका छन्।
गएराति १:३० बजे उनी दुबईस्थित दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। दुबई विमानस्थल प्रधानमन्त्री प्रचण्डलाई नेपाली राजदूत तेजबहादुर क्षत्री र नेपालका लागि यूएईका राजदूत अब्दुल्ला एम साम्सीलगायत यूएईस्थित दूतावासका अधिकारीले उनको स्वागत गरे।
प्रधानमन्त्री प्रचण्डले आज राजधानी आबुधाबीमा रहेको नेपाली दुतावासको अवलोकनका साथै नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम छ।
साँझ नेपाल उद्योग वाणिज्य महासंघ दुबई चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ। कोप–२८ मंसिर १४ देखि २६ (नोभेम्बर ३० देखि डिसेम्बर १२) सम्म दुबईमा हुँदै छ।
प्रधानमन्त्री प्रचण्डले डिसेम्बर १ देखि २ सम्म आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम छ।
उनले डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रमा राष्ट्रिय वक्तव्य दिनेछन्। बिहीबार साँझ उनको वास राफेल्स दुबई वाफीमा हुनेछ।
शुक्रबार (१५ मंसिर) बिहान साढे ९ बजे यूएईका राष्ट्रपति मोहम्मद विन जायेद अल नाह्यानसँग प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गर्नेछन्। राष्ट्रपति नाह्यान र प्रधानमन्त्री प्रचण्डको भेटवार्ता २० मिनेट हुने तय भएको छ।
त्यसपछि उनले कोप–२८ सम्मेलनस्थलमा राखिएको नेपाली पेभिलियन अवलोकन गर्नेछन् भने ११ः४० मा विश्व वातावरण सम्मेलनमा सहभागी हुनेछन्। साढे १ बजे ‘ट्रान्सफर्मिङ फुड सिस्टम इन द फेस अफ क्लाइमेट चेन्ज’ कार्यक्रममा सहभागिता जनाउनेछन्।
सम्मेलनस्थलमै उनले यूएईका उपराष्ट्रपति र प्रधानमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ। यी दुई भेटघाट शुक्रबार दिउँसो २ बजेको आसपास हुनेछन्।
त्यसै दिन ४ः४० मा ‘वातावरण अनुकूलनसम्बन्धी सम्मेलन’ मा सहभागी हुने उनी साँझ ६ः४५ बजे ‘जायेद दिगोपन पुरस्कार वितरण’ कार्यक्रममा सहभागी हुने योजना बनेको छ। त्यसअघि २ः४५ मा ‘क्लाइमेट फाइनान्स’सम्बन्धी अर्काे बैैठकमा पनि उनी सहभागी हुनेछन्।
शनिबार (१६ मंसिर) मा सम्मेलनस्थलको ‘साइडलाइन’ का रूपमा प्रधानमन्त्री प्रचण्डले पर्वतीय मुलुकका प्रतिनिधिमण्डलका प्रमुखहरूको राउण्ड टेबल बैठक आयोजना गरेका छन्। सो बैठकमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेस पनि सहभागी हुने तय भइसकेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ