आइतवार, फाल्गुन ४, २०८१

नक्कली भुटानी काण्ड : आज जवाफी बहस, भोलिसम्म फैसला


कान्तिपथ


नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणको आजबाट प्रतिवादीका तर्फबाट जवाफी बहस सुरु हुँदैछ।

प्रतिवादीतर्फका कानुन व्यवसायीहरुलाई उच्च अदालत पाटनमा बिहीबारबाट जवाफी बहस सुरु गर्दैछन्। यसअघि हिजो बुधबार मात्रै सरकारी पक्षको बहस सकिएको थियो। सरकारी पक्षबाट बुधबार ४ जना सरकारी वकिलले बहस गरेका थिए। सरकारी वकिलहरु सहन्यायाधिवक्ता शंकर खत्री तथा महेश खत्री, उपन्यायाधिवक्ता प्रकाश न्यौपाने र सहायक न्यायाधिवक्ता ममता श्रेष्ठले बहस गरेका थिए।

सरकारी पक्षले प्रतिवादीहरुलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने जिकिर गरेका थिए। मंगलबार निवेदकका कानुन व्यवसायीले आफ्नो पक्षको बहस सकाएका थिए।

बिहीबार प्रतिवादीका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन्। जवाफी बहस आजै बिहीबार सक्ने तयारी गरिएको छ। बिहीबार जवाफी बहस सकिएको अवस्थामा आजै वा भोलि शुक्रबारसम्म फैसला आउने बताइएको छ।

जवाफी बहस सकिएपछि अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको हकमा जिल्लाकै थुनछेक आदेशलाई सदर गर्ने वा साधारण तारेख तथा धरौटीमा रिहा गर्ने भन्ने आदेश सुनाउनेछ।

२०७९ चैत १२ गते तीन जनालाई पक्राउ गरेर सुरु भएको अनुसन्धानले ३० जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो। ६० दिनसम्म चलेको लामो अनुसन्धानको क्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री समेत रहेका बालकृष्ण खाणदेखि नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री समेत भइसकेका प्रतिनिधि सभाका बहालवाला सांसद टोपबहादुर रायमाझी, नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डेसहित हाइप्रोफाइल व्यक्ति पक्राउ परेका थिए। हाइप्रोफाइलसहित विभिन्न मितिमा १८ जनालाई पक्राउ परेर मुद्दा चलाइएको थियो।

ठगी, संगठित ठगी, राज्य विरुद्धको कसुर, लिखतसम्बन्धी कीर्ते र एकीकृतको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको थियो। प्रतिवादीहरुले २८ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको भन्दै सोही अनुसारको बिगो मागदाबी समेत गरिएको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत