बुधबार, माघ २, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • नक्कली भुटानी काण्डमा आज आदेश आउने : बादलका छोरा ८ महिनादेखि फरार !

नक्कली भुटानी काण्डमा आज आदेश आउने : बादलका छोरा ८ महिनादेखि फरार !


कान्तिपथ


नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरूद्ध उच्च अदालत पाटनमा परेका निवेदनमा आज (शुक्रबार) आदेश आउने सम्भावना छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन खोजेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तले उच्च अदालतमा दिएका निवेदनबारेको बहस आज सकिने सम्भावना छ। उच्च अदालत पाटनका रजिस्ट्रार ठगीन्द्र कट्टेलका अनुसार प्रतिवादीका तर्फबाट जवाफी बहस अन्तिम चरणमा पुगेको छ र सम्भवतः आज सकिएर आदेश आउने सम्भावना छ।

आफूलाई थुनामुक्त गरेर मुद्दाको अन्तिम किनारा लगाउन माग गर्दै प्रतिवादीका तर्फबाट उच्च अदालतमा फरक–फरक मितिमा निवेदन दिइएका थिए।

यस्तै उनीहरूलाई थुनामै राख्नुपर्ने जिकिर गर्दै सरकारी वकिल कार्यालयले पनि छुट्टाछुट्टै निवेदन दर्ता गराएको थियो। निवेदनमा यही मंसिर ५ गतेदेखि नियमित सुनुवाइ गरेर हिजो (बिहीबार) सकिएको थियो।

ठगी, किर्ते, संगठित अपराध र राज्यविरुद्धको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौँले ३० जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा पेस गरेको थियो। जसमा १० जना फरार छन्।

यस प्रकरणअन्तर्गत नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद आङटावा शेर्पा, सानु भण्डारी, केशव दुलाल, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हरिभक्त महर्जन र आशिष बुढाथोकी पुर्पक्षका लागि थुनामा छन्।

प्रकरणमा आफू निर्दोष रहेको दाबी गर्दै प्रतिरक्षामा उत्रिएका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा (बादल)का छोरा प्रतीक ८ महिनादेखि फरार छन्।

भुटानी शरणार्थी प्रकरणमा संलग्न भएकोबारे मिडियामा प्रतीकको नाम सार्वजनिक भएपछि आफू निर्दोष रहेको भन्दै उनले त्यसको प्रतिवाद गरेका थिए। वैशाख २१ गते विज्ञप्ति समेत निकालेर उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै अनुसन्धानमा सहयोग गर्ने बताएका थिए।

अनुसन्धानमा सहयोग गर्छु भनेर विज्ञप्ति निकालेको ८ महिना बितिसक्दा समेत उनी फरार छन्। त्यसो त अनुसन्धानमा सहयोग गर्ने भन्दै विज्ञप्ति निकालेको बेला पनि प्रतीक ‘भूमिगत’ नै थिए।

यो ठगी गिरोहका सदस्य पक्राउ पर्न सुरु भएदेखि नै प्रतीक फरार रहेको त्यतिबेला प्रहरीले जनाएको थियो। ठगी प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते तीन जनालाई पक्राउ गरेपछि नै प्रतीक सम्पर्कविहीन भएका थिए।

यो प्रकरणमा चैत १२ गते ३ जना पक्राउ परेपछि उनी भारत पुगेको बताइएको थियो। तर त्यसपछि उनी अहिलेसम्म कहाँ छन् भन्नेबारे अहिलेसम्म केही पत्ता लाग्न सकेको छैन। पक्राउ पूर्जी जारी भएर प्रहरीको खोजी सूचीमा रहेका उनी अहिलेसम्म फेला पर्न सकेका छैनन्। जबकि यो ठगी प्रकरणका उनी एक नाइके नै रहेको प्रहरीको दाबी छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत