दोलखामा गएराति शिकार खेल्न गएका एक युवकको भरुवा बन्दुकको छर्राले लागेर मृत्यु भएको छ। युवकको मृत्यु भएपछि प्रहरीले उनीसँगै सिकार गएका ६ जनालाई पक्राउ गरेको छ।
तामाकोशी गाउँपालिका–२ झुलेका २० वर्षीय सञ्जिव मिजारको भरुवा बन्दुकको छर्राले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपक खड्काले जानकारी दिए।
देब्रे छातीमा छर्राले लागेर गम्भीर घाइते भएका मिजारको तामाकोशी सामुदायिक अस्पतालमा प्राथमिक उपचार गरिएको थियो। थप उपचारका लागि राति नै उनलाई चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पताल लगिएको थियो।
अस्पताल पुर्याउनासाथ उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। मिजारको शव अहिले पशुपति चौलागाईं सामुदायिक अस्पताल अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा तामाकोशी गाउँपालिका–३ का १६ वर्षीय कृष्ण नेपाली, सोही ठाउँका १८ वर्षीय रचेस मुग्राती, १५ वर्षीय सुमन तोलांगी, २२ वर्षीय माधव पोख्रेल, ४२ वर्षीय सञ्जिव पोख्रेल र तामाकोशी गाउँपालिका–२ झुलेका २५ वर्षीय अविदित कार्की छन्।
सात जनाको समूह गएराति स्थानीय डाँडाबारी जंगलमा बन्य जन्तुको शिकार खेल्न गएका बेला घटना भएको हो। यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी खड्काले बताए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ