शनिबार, चैत्र ९, २०८१

शुक्लाफाँटाका दुई बालकमा दादुरा–रुबेला


कान्तिपथ


कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा दादुरा–रुबेलाका बिरामी फेला परेका छन् । आठ वर्षीय र २२ महिनाका बालकमा दादुरा–रुबेला देखिएको हो । अन्य १९ शङ्कास्पद बिरामी फेला परेका छन् ।

शङ्कास्पद बिरामीमा दादुरा–रुबेला भए नभएकाबारे परीक्षण गर्ने काम भइरहेको छ । दादुरा–रुबेला नियन्त्रण तथा व्यवस्थापन गर्न सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायसँग आवश्यक समन्वय सहकार्य गरी जनशक्ति परिचालन गरेको छ ।

विश्वस्वास्थ्य सङ्गठन, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय कञ्चनपुरको टोलीले छुट्टाछुट्टै रुपमा दादुरा–रुबेला देखिएको क्षेत्रमा पुगेर अनुसन्धान अध्ययन गरेका छन् । बाइस महिनाका बालकले दीपनगर आधारभूत स्वास्थ्य केन्द्रमा नियमित खोपअन्तर्गत दादुरा–रुबेलाको खोप लगाएका हुन् भने आठ वर्ष १० महिनाका बालक पहाडबाट बसाइँसराइ गरेर यहाँ आएका हुन । दादुरा–रुबेला देखिएका क्षेत्रमा खोप कार्यक्रम सञ्चालन गरिने भएको छ ।

दादुरा–रुबेला भएको क्षेत्रमै लगाउने वा पूरै नगरपालिका क्षेत्रमा लगाउने वा नजिकका पालिकामा लगाउने भन्नेबारे छलफल भइरहेको स्वास्थ्य निर्देशनालय दिपायलका महामारी नियन्त्रणसम्बन्धीका सम्पर्क व्यक्ति हेमराज जोशीले बताए । दादुरा–रुबेला रोकथामका लागि खोप अभियान सञ्चालनको तयारी भइरहेको उनले बताए।

हैजा देखा परेको कैलालीको धनगढी उपमहानगरपालिका–१ त्रिवेणी चोक क्षेत्रबाट खानेपानी र दिसाको नमुना सङ्कलन गरी प्रयोगशालामा जाँचको काम भइरहेको छ । सो क्षेत्रमा गत बिहीबार २३ र २६ वर्षीय दुई युवकमा हैजा देखापरेको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत