काठमाडाैंं । ‘गुण्डा नाइके’ दीपक मनाङे भनिने राजीव गुरुङले नेपाल पत्रकार महासंघ कास्की शाखा सदस्य एवं अनलाइन खबर डटकमका गण्डकी व्यूरो प्रमुख अमृत सुवेदीलाई ‘सार्वजनिक रुपमा कुट्नुपर्ने’ भन्दै धम्की दिएका छन्।
उनि अहिले गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रहेका छन् ।
मन्त्री गुरुङ आफ्नै कार्यकक्षमा गञ्जी लगाएर बसेको फोटो साउन ११ गते पत्रकार सुवेदीले सार्वजनिक गरेका थिए।
सोही निहुँमा मन्त्री गुरुङले पत्रकार सुवेदीलाई सार्वजनिक रुपमा कुट्नुपर्ने भनेर अभिव्यक्ति दिएको नेपाल पत्रकार महासंघ कास्की शाखाले जनाएको छ।
मन्त्री गुरुङले दिएको सो अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।
‘प्रदेश सरकारको मन्त्रीजस्तो जिम्मेवार व्यक्तिबाट यस किसिमको अभिव्यक्ति आउनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो’ महासंघले विज्ञप्ति निकालेर भनेको छ, ‘मन्त्री गुरुङको यो गैरजिम्मेवार अभिव्यक्तिले कानुनी राज्यको उपहास हुनुका साथै पत्रकारको सुरक्षासमेत चुनौतीपूर्ण बनेको महासंघको ठहर छ।’
महासंघले यस्ता गैरजिम्मेवार र आतंकित अभिव्यक्ति दिने मन्त्रीमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन माग गरेको छ। साथै, संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न र पत्रकारको सुरक्षामा विशेष ध्यान दिइ सुरक्षित र निर्वाध रुपमा काम गर्ने वातावरणको प्रत्याभूति दिलाउन पनि सरकारसँग माग गरेको छ।
(फाइल फोटो)
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ