बुधबार, भदौ २६, २०८१

दलित कोटाबाट गैरदलितलाई सांसद बनाएको भन्दै पद खारेज गर्न माग


कान्तिपथ


कोशी प्रदेशसभामा नेपाली काँग्रेसबाट समानुपातिक सांसद रहेकी सुनिताकुमारी गुरुङको पद खारेज गर्न नेपाल दलित संघले माग गरेको छ ।

दलित पुरुषसँग अन्तर्जातीय विवाह गरेको आधारमा दलित कोटाबाट प्रदेश सांसद भएको भन्दै नेपाली काँग्रेसको भातृ संगठन नेपाल दलित संघ, कोशी प्रदेश समितिले गुरुङको प्रदेश सभा सदस्यको पद खारेजी गर्न माग गरेको हो ।

रामसँग अन्तर्जातीय विवाह गरेपनि नागरिकता नसच्याएको र थर गुरुङ नै कायम रहेकाले सुनिता दलित कोटाबाट प्रदेशसभा सदस्य बन्न योग्य नरहेको संघको दाबी छ ।

दलित संघले आइतबार काँग्रेस कोशी प्रदेश समितिमार्फत् गुरुङको पद खारेजीको माग गरेको हो ।

सुनसरीको बर्जु गाउँपालिकाकी प्रदेशसभा सदस्य गुरुङले डेढ दशकअघि स्थानीय डोमी रामसँग प्रेमविवाह गरेकी हुन् । उनले बर्जु ५ स्थित कोशी आधारभूत विद्यालयमा १९ वर्ष अध्यापन गरेकी थिइन् ।

जातीय विभेद र छुवाछुतको पीडा प्रत्यक्ष बुझेको बताउँने उनी चमाारसँग विवाह गरेकै कारण समाजिक बहिष्कारमा पनि परेकी थिइन् ।

दलित कोटाबाट सांसद बनेपनि उनको नाममा गुरुङ मात्र छ । उनी केदार कार्की मुख्यमन्त्री भएको बेला आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीसमेत भएकी थिइन् ।

नयाँ गठबन्धनबाट पनि मन्त्री दावी गरिरहेकी उनको सांसद पद नै खारेज हुनुपर्ने आवाज उठेको हो । गुरुङले वास्तविक दलितको प्रतिनिधित्व गर्न नसक्ने दलित संघको दावी छ ।

नेपाली काँग्रेसमा यसअघि विजयकुमार गच्छदार निकट मानिएकी गुरुङ केदार कार्कीलाई मुख्यमन्त्री बनाउन विद्रोहमा सामेल भएपछि राज्यमन्त्री भएकी थिइन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत