शुक्रबार, भदौ २८, २०८१

जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल फेला


कान्तिपथ


म्याग्दी । बेनी नगरपालिका–९ आङ्खखेत कालीमुलको जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल फेला परेको छ ।

शव गाडिएको ठाउँ नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पलसमेत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गङ्गटा खोज्न गएका स्थानीयले आइतबार दिउँसो कपडा र नजिकै शव गाडेको ठाउँ देखेपछि प्रहरी तथा जनप्रतिनिधिलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले कङ्काल, गहना र कपडालाई परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाउन लागिएको बताए ।

“घटनास्थलबाट उत्खनन गरेको मानव कङ्काल र भेटिएका सामग्रीलाई सोमबार नै परीक्षणका लागि पठाउँछौँ”, उनले भने, “अनुुसन्धानको कामलाई पनि सँगसँगै अघि बढाएका छौँ ।

कङ्काल र सामग्रीको पहिचानसँगै अन्य तथ्य, प्रमाणहरूको खोजीमा केन्द्रित भएका छौँ ।”

विसं २०८० पुस १६ गते राति घरबाट बेपत्ता भएकी बेनी नगरपालिका–९ घतानकी १९ वर्षीय मीना परियार भेटिएकी छैनन् ।

घटनास्थलमा पुगेका मीनाका आफन्तले गहना र कपडा मीनाकै भएको दाबी गरेका छन् । मीनाको हत्यापछि जङ्गलमा शव गाडिएको हुनसक्ने आफन्तहरूको भनाइ छ ।

मीनालाई बेपत्ता बनाएको आरोपमा पक्राउ परेका बेनी नगरपालिका–९ का एक युवालाई अदालतको आदेशानुसार पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

बेपत्ता मीना, कङ्काल, सामग्री र थुनामा रहेका युवाको सम्बन्धका विषयमा प्रयोगशालाको प्रतिवेदनपछि मात्र पुष्टि गर्न सकिने प्रनाउ श्रेष्ठले बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत