शुक्रबार, भदौ २८, २०८१

‘ब्ल्यांकेट एम्नेस्टी’को पक्षमा छैनौं : प्रचण्ड


कान्तिपथ


‘हतियार छाडेर सेना समायोजन गरेपछि पार्टी फुटाइयो’

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुईदलीय प्रतिस्पर्धातिर जान खोजेको त होइन भन्ने आशंका गरेका छन् । प्रचण्ले आफूहरू ‘ब्ल्यांकेट एम्नेस्टी’को पक्षमा नरहेको पनि बताएका छन् ।

बुधबार टीआरसी विधेयकमाथि संसदमा भएको छलफलमा भाग लिँदै माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेतिर संकेत गर्दै यस्तो आशंका पनि गरे । सुरुमा बोलेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु बहुदलीय प्रतिस्पर्धाको पक्षमा रहेको बताएका थिए ।

‘तर केदेखि तर्सिएको के, केदेखि पनि झस्कन्छ भनेझैं उहाँले हुन्छ भनेको हुन्न बुझ्नुपर्ने, हुन्न भनेपछि हुन्छ बुझ्नुपर्ने भएकाले बडो आशंकाको स्थिति कायम छ’, प्रचण्डले भने, ‘आज उहाँले जे बोल्नुभएको छ, त्यो सही साबित होस् ।’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई समाजमा अराजकता फैलाउने प्रवृत्ति देखिएको बताए ।

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोग पीडितमैत्री हुन्छ कि हुँदैन भनेर लामो सयम विभिन्न स्तरमा गम्भीर छलफल गरेको भन्दै प्रचण्डले यसबारे फैलाइएका भ्रमहरू चिर्न सफल भएको उल्लेख गरे ।

प्रचण्डले भने, ‘लामो समयदेखि यो विधेयक पीडित मैत्री हुन्छ कि हुँदैन भन्ने बारेमा हामीले विभिन्न स्तरमा गम्भीर संवाद गर्‍यौं । हामीले देशभित्र विभिन्न पीडित संस्थाका प्रतिनिधिहरूसँग, पीडित परिवारहरूसँग, राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग लामो समयदेखि निरन्तर संवाद गर्दै रह्यौं । यो विधेयक पीडित मैत्री हुन्छ कि हुँदैन या यसले मेलमिलापको नाममा पीडितलाई थप पीडा दिने त होइन भन्ने चिन्ता हामी सबैले व्यक्त पनि गर्‍यौं र यसलाई बढीभन्दा बढी पीडित केन्द्रित बनाउने कोसिस गर्‍यौँ ।’

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना शान्ति प्रक्रिया रहेको कुरामा आफ्नो समर्थन रहेको बताउँदै दाहालले भने, यही शान्ति प्रक्रिया युरोप या पश्चिमा देशहरूमा भएको भए सायद यसको मान्यता स्थापित गर्ने काम ठूलो स्केलमा हुने थियो होला ।’

प्रचण्डले १० वर्षे युद्धबाट शान्ति प्रक्रियामा आइसकेपछि आफू नेतृत्वको पार्टी फुटाइएको गुनासो पनि गरेका छन् । आफ्नो पार्टी विभाजन भएर पनि देशमा शान्ति स्थापना भएकोमा आफूलाई गर्व रहेको बताए । उनले आफ्नो विशेष पहलमा नै सेना समायोजन र हतियार व्यवस्थापनको काम सकिएको सुनाए ।

‘भोलि बिहानसम्म पर्खिए देश दुर्घटनामा जानसक्छ । प्रत्येक क्यान्टोनमेनमा खुनखराबा हुन सक्छ । आजकै दिन, आजकै राति हतियार व्यवस्थापन हुनपर्यो, सेना समायोजन हुनपर्यो भनेपछि ११ बजे रातिपछि यो काम सम्पन्न गरियो विनाखुनखराबा, विना क्षति काम सम्पन्न गरियो’, उनले भने, ‘एउटामात्रै क्षति मैले र पार्टीले ब्यहोर्नुपर्यो । मैले सेना समायोजन गरेवापद, मैले हतियार व्यवस्थापनको नेतृत्व गरेवापद मेरो पार्टी विभाजित भयो । निकै ठूलो जटिलता पार्टीले ब्यहोर्नुपर्यो । देश बच्यो, शान्ति स्थापित भयो, मलाई गर्व छ ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत