शुक्रबार, भदौ २८, २०८१

पहिरो गएपछि सडक अवरुद्ध, बाढीले घर बगायो


कान्तिपथ


गुल्मी । गए रातिदेखि परेको अविरल वर्षाका कारण तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ ।

मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडकमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

त्यसैगरी तम्घास‐रिडी सडकअन्तर्गत रुरुक्षेत्र गाउँपालिका १ को रिडी खज्र्याङ् सडक र तम्घास‐रिडी सडकअन्तर्गत रातामाटामा सडक माथिबाट चट्टानसहितको पहिरो खस्दा सो क्षेत्रमा पूर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

अविरल वर्षाका कारण रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ उर्लीखोला नजिकै डहरेखोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध बनेको छ ।

सडक अवरुद्ध बनेपछि सदरमुकाम तम्घास र वामीटक्सारदेखि बुटवल‐काठमाडौँसम्म जाने लामो तथा छोटोदुरीका सवारी साधनहरू बीचबाटोमै अलपत्र परेका छन् ।

सडक सञ्चालन गर्न स्थानीय पालिका र प्रशासनद्वारा पहल भैरहे पनि वर्षा भइरहेको र पहिरो खस्ने क्रम नरोकिएका कारण सडक सञ्चालन गर्न समस्या परेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।

बाढीले घर बगायो
त्यसैगरी अविरल वर्षाका कारण गुल्मीको छत्रकोट गाउँपालिका–५ दुमैमा खोलामा आएको बाढीले स्थानीय रामबहादुर बुचाको घर बगाएको छ ।

बुचाको दुईतले घर बगाउँदा दुईवटा बाख्रासहित १५ वटा कुखुरा मरेका छन् भने एउटा स्कुटर समेत बगाइदिएको छ । उक्त घटनामा मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

हावाहुरीसहित आएको वर्षाका कारण मकैबालीमा समेत पूर्ण रूपमा क्षति पुर्‍याएको छ ।

वर्षाका कारण ग्रामीण क्षेत्रबाट सदरमुकाम तम्घास आउने तीन दर्जनभन्दा बढी सडकहरू समेत अवरुद्ध बनेको जनाइएको छ । वर्षाका कारण थप जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनार र पहिरो ग्रस्त क्षेत्रका बासिन्दाहरूलाई सर्त भई सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छ ।-File photo-रासस



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत