बुधबार, भदौ २६, २०८१

रिलायन्स स्पिनिङलाई आइपिओ जारी गर्ने बाटो खुला


कान्तिपथ


काठमाडाैं । रिलायन्स स्पिनिङ मिल्सलाई प्रिमियम शुल्कमा आइपिओ जारी गर्ने बाटो खुलेकाे छ ।

नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट पनि ‘क्लिन चिट’ पाएसँगै रिलायन्सलाई आइपिओ जारी गर्ने अवराेध हटेकाे हाे ।

यसअघि कम्पनीकाे वित्तीय विवरणमा कुनै कैफियत नदेखिएकाे भन्दै धितोपत्र बोर्डले क्लिन चिट दिएकाे थियाे ।

बोर्डबाट कम्पनीमाथि थप अनुसन्धान गर्न नपर्ने गरी प्रमाणसहित जबाफ प्राप्त भएकाले उक्त मुद्दा तामेलीमा राखिएको सिआइबीले पठाएको पत्रमा उल्लेख छ। धितोपत्र बोर्डले प्रश्नको प्रतिउत्तरमा साउन २४ गते सिआइबीलाई ४८ पृष्ठ लामो जबाफ पठाएको थियो । वित्तीय विवरण कसुरपूर्ण रहेको भन्दै उजुरी परेपछि सिआइबीले धितोपत्र बोर्डलाई जबाफ दिन लिखित निर्देशन दिएको थियो।

‘धितोपत्रसम्बन्धी ऐन २०६३ र सोअन्तर्गत बनेको धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३, धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ र बुक बिल्डिङ निर्देशिका २०७७ अनुसार नै मूल्य निर्धारण गरिएको र कम्पनीको वित्तीय विवरण प्रमाणित गर्ने एसएआर एसोसिएट्सले रिलायन्सको २०८०/८१ को प्रथम त्रैमासको प्रतिसेयर आम्दानी ०.९६ पैसा र २०८०/८१ को प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ९० पैसा प्रक्षेपण गरेको र सो प्रक्षेपणमा धितोपत्र बोर्डमा पटक-पटक अध्ययन अनुसन्धान भएको विषयलाई आधार मान्दा उक्त कम्पनीको वित्तीय प्रक्षेपण असम्भव वा बदनियतपूर्ण रहेकाे भन्न सकिने अवस्था नदेखिँदा धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९७ बमोजिमको कसुर गरेको भन्न सकिने अवस्था नदेखिएको र वित्तीय विवरणमा कुनै पनि किसिमको कसुर नभएकाले सिआइबीले थप अनुसन्धान गरिरहन आवश्यकसमेत देखिँदैन,’ धितोपत्र बोर्डले सिआइबीलाई लेखेको पत्रको निष्कर्षमा भनिएको छ ।

अदालतमा परेको उजुरीबारे पनि अदालतले अन्तरिम आदेश नदिएर यसअघि नै रिलायन्स स्पिनिङलाई आइपिओ निष्कासनको बाटो खुला गरिदिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत