शनिबार, भदौ २२, २०८१

कालदहमा मेला, खेतमा भ्यागुतालाई भोज


कान्तिपथ


काठमाडाैं । जनैपूर्णिमाका दिन बिहानदेखि मठमन्दिरमा भीड चुलिँदै जाँदा भक्तपुरका किसान भने विभिन्न परिकार बोकेर भ्यागुतालाई भात खुवाउन आफ्ना खेततिर लाग्ने गर्दछन् ।

गोलाकार पारेर काटिएका मूलाका चाना सिन्काले घोचेर भातमा अड्याइएको छ ।

छरिता रोटीसँगै विभिन्न तरकारी, क्वाँटीलगायत खानेकुरा ठूलो पातमाथि राखिएका छन् ।

रक्षाबन्धन धागो र सिन्दूर पनि त्यसमै राखेर छेवैमा धुवाइरहेको सुगन्धित धूप बालेर त्यसलाई किस्तीमाथि राखेर यहाँका किसान खेतमा पुग्छन् ।

खेतमा पुगेर आलीमा टुक्रुक्क बसेर भ्यागुतालाई पाहुनाका रूपमा डाक्छन् र किसानले भ्यागुतालाई परिकार छाडिदिन्छन् ।

सामुन्ने नआए पनि तिनलाई रक्षाबन्धनको धागो त्यहीँ छाडिदिन्छन् । साङ्केतिक रूपमा सिन्दूर पहिर्‍याइदिन्छन् । अनि किसानले ऐनाका रूपमा (भातमा गाडिएका मूलाका चाना) देखाइदिन्छन् । किसान आफू हिँडेपछि भ्यागुता आएर खाने विश्वासमा परिकारका भाग त्यहीँ छाडिदिन्छन् ।

यो परम्परा देख्नेलाई अनौठो लागे पनि भक्तपुरका नेवार समुदायका लागि भने यो परम्परा हरेक वर्षको जनैपूर्णिमामा मान्दै आएकाले कुनै अनौठो लाग्दैन ।

यसैगरी, आज यहाँका बासिन्दाले खेतखेतमा भ्यागुतालाई परिकारसहितको भात खुवाएर यो पर्व मनाएका छन् ।

प्रकृतिपूजक किसान भ्यागुताले बालीनाली सपारिदिने विश्वास रहेको संस्कृतिकर्मी कला जोशी बताउँछिन् ।

त्यही गुन तिर्न वर्षको एक दिन उनीहरूलाई भोज खुवाउने परम्परा सदियौँदेखि रहँदै आएको उनी बताउँछिन् । धेरैतिर खेत हुनेहरूलाई सबैतिर पुग्न भ्याइनभ्याइ हुन्छ ।

प्रत्येक वर्ष गाईजात्राको अघिल्लो दिन (रक्षाबन्धन) भ्यागुतालाई भोज खुवाउने परम्परा छ । यसलाई स्थानीय किसान ‘ब्यां चा जानका वानेगू’ भन्छन् । नेपालभाषामा ‘ब्यां’ को अर्थ भ्यागुतो र ‘जानका वानेगू’ को अर्थ खाना खान जाने हुन्छ ।

संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्ग भ्यागुतालाई किसानको सहयोगीका रूपमा लिई सम्मानसाथ भोज खुवाउने परम्परा रहेको बताउँछन् ।

भ्यागुताले विभिन्न माध्यमबाट बालीनाली संरक्षण गरी किसानलाई सहयोग गर्ने गरेको तथा भ्यागुतो उफ्रँदा बारीमा मल फिजिन्छ र बाली बिगारिदिने कीटाणु खाइदिन्छ भन्ने विश्वासले भ्यागुताको पूजा र भोज खुवाउने परम्परा रहँदै आएको उनको भनाइ छ ।

त्यसैगरी, जनैपूर्णिमाको दिन आज भक्तपुरको व्यासीस्थित औद्योगिक क्षेत्रमा रहेको प्राचीन कालदहमा बिहानदेखि ठूलो मेला लागेको छ ।

आजको दिन कालदहमा स्नान गर्ने र पोखरीको बीचमा रहेको महादेवको पूजाअर्चना गर्ने प्रचलन रहिआएको छ ।

यहाँ स्नान गर्दा शरीरमा भएको रोग नाश हुने जनविश्वास रहँदै आएको छ ।

विशेषगरी आज यहाँ भक्तपुरका नेवार समुदायको भीड लाग्ने गर्दछ । रासस



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत