काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालमाथि भ्रष्टाचारको आरोप लागेको छ।
सिन्धुली पार्टी कार्यालय भवन निर्माणका क्रममा लेखनाथ थि आर्थिक हिनामिना गरेर भ्रष्टाचार गरेको आरोप लागेको हो ।
हालै बसेको जिल्ला समन्वय समिति सिन्धुलीको बैठकमा यसबारे जिल्ला नेताहरुले गम्भीर प्रश्नमात्रै उठाएका छैनन् यसबारे पार्टीको आन्तरिक सर्कुलरमा समेत उल्लेख भएको पाइएको छ ।
जिल्ला इन्चार्ज बुद्धिमान माझी(बसन्त)को हस्ताक्षरमा साउन २७ गते जारी आन्तरिक परिपत्रमा राजनलाई पटक पटक अनुरोध र ताकेता गर्दा पनि आयव्यय प्रस्तुत नगरेको उल्लेख छ ।
परिपत्रको २ नम्बर बुँदामा भनिएको छ, ‘जिल्ला पार्टी कार्यालय भवन निर्माणको आय व्याय प्रस्तुत गर्न यस अघिको जिल्ला समन्वयको निर्णय अनुसार तत्कालिन जिल्ला इन्चार्ज केन्द्रीय सदस्य दाहाललाई बारम्बार अनुरोध र ताकेता गरियो ।
भवन निर्माण कार्यको क्रममा खाता सञ्चालक गणेश रत्नलाई कार्यालयमा बोलाएर आय व्याय प्रस्तुत गर्न आग्राह गरियो। सुनुवाई भएन ।
गणेश रत्नको भनाईको आधारमा भवन निर्माणबाट बाँकी रकम करिव ४०–४५ लाख जनसेवा फाउन्डेशनको नाममा जम्मा गरेको बुझिएको छ । हालसम्म भवन निर्माणको आय व्याय विवरण पार्टी कमिटीमा प्राप्त भएको छैन ।’
जिल्ला कमिटीका नेताहरु राजनले लाखौँ रकम हिनामिना गरेकाले छानबिन हुनुपर्ने बताउँछन् । यसैबीच बुधबार माओवादी पार्टी कार्यालयमा बसेको बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठकमा पनि यो विषय उठेको छ।
केही नेताहरुले भ्रष्टाचारको प्रसंग निस्किएपछि सिन्धुलीको उदाहरण दिँदै आवाज उठाएको बागमती प्रदेशका एक नेताले बताए । ती नेताले अनियमिततको विषयमा पार्टीले छानबिन गर्नुपर्नेमा जोड दिए ।
बुधबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेताहरू जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेललगायतका नेता सहभागी थिए ।
राजनले संघीय सांसद भएयता अध्यक्ष प्रचण्डको पक्षमा निरन्तर बोल्दै आएका छन् । प्रचण्डले खासै विश्वास नगरेपनि प्रचण्डलाई विश्वासमा लिनकै लागि उनले संसद र बाहिर लगातार पक्षमा अभिव्यक्ति दिँदै आएको पार्टीकै नेताहरु बताउँछन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ