मङ्लबार, भदौ २५, २०८१

सरकार संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर छ : प्रचण्ड


कान्तिपथ


काठमाडाैं । प्रमुख प्रतिपक्षी दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर भएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर भएको बताएका हुन्।

‘प्रमुख प्रतिपक्षी दलको नेताको रूपमा यो सम्मानित रोस्टम अलि अगाडि नै पनि उपयोग गर्न सक्थेँ । गरिनँ । किनकि, म सरकारलाई हनिमुन पिरियडसम्मै शंकाको सबै सुविधा दिने पक्षमा थिएँ । सरकारमाथि पहिलो बहस जनताको अदालतमा होस् भन्ने मेरो चाहना थियो,’ उनले भने, ‘तर, ४० दिनभन्दा बढी समयसम्म सरकारको नियत र गन्तव्यको सूक्ष्म अवलोकनपछि म यो निष्कर्षमा पुगेको छु, सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर छ । संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर छ । जनताभन्दा स्वार्थ समूहहरूको, अझ माफियाहरूको सेवामा अग्रसर छ ।’

अब पनि रचनात्मक खबरदारी नगरे धेरै ढिलो हुने र धेरै क्षति हुने उल्लेख गर्दै उनले जनताले संसदमाथि गरिरहेको विश्वास कमजोर हुन नदिन आफूले आजै यो रोस्टममा उभिने निर्णय गरेको बताए।

‘अहिले नेपाली कांग्रेस र नेकपा (एमाले)का साथीहरू आफू मात्र मिल्नुभएको छैन, आफैँले सिध्याउने भनेका जातीय–क्षेत्रीय प्रकृतिका साना दलहरूलाई पनि कतै फकाएर, कतै तर्साएर सत्तापक्ष बनाउनुभएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘संख्यात्मक रूपमा प्रतिपक्षीय बेन्च सानो भएको वेला संख्याको बलमा सरकारले जे गरे पनि हुन्छ र गर्न सक्छ भन्ने साथीहरूलाई लागेको हामीले देख्यौँ । प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा म आज यही रोस्टमबाट घोषणा गर्दछु, सत्ताको कुनै पनि अनैतिकता, बेथिति र बेइमानीको हामी निरीह साक्षी हुनेछैनौँ ।’
 
बरु, सरकारका एकएक अपराधलाई यही संसदमा नंग्याउने, खबरदारी र प्रतिरोध गर्ने चेतावनी दिँदै उनले प्रतिपक्ष कमजोर होला कि भन्ने चिन्ता वा कमजोर हुनेछ भन्ने खुसी कसैलाई छ भन्ने दुवैलाई आश्वस्त हुन आग्रह गरे।

‘बरु, आवश्यक परे जनतालाई साथमा लिएर संसददेखि सडकसम्म सत्तालाई खबरदारी र नियन्त्रण गरिनेछ । पछिल्ला ४० दिनमा प्रतिपक्षको नैतिक शक्ति जनताले देखिसकेको छ,’ अध्यक्ष प्रचण्डले प्रश्न गरे, ‘धेरैलाई लागेको हुँदो हो, प्रतिपक्षको यति सानो संख्याले दुईतिहाइको सरकारलाई कसरी खबरदारी र नियन्त्रण गर्ला ? संख्यामा होला दुईतिहाइ, तर सरकारको जगमा विश्वास होइन, डर थियो र छ । यो सरकार जहाँ, जतिखेर र जसरी बन्यो, गर्भदेखि नै जनताका बिचमा ‘एक्सपोज’ थियो र अझ भइरहेको छ ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत