काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा माओवादी जनयुद्धलाई १० वर्षे हिंसा भनेको विषयले माओवादी केन्द्र र एमाले आमने सामने भएका छन् ।
बुधबार संसद मा दुवै दलका सांसदबीच घम्साघम्सी परेपछि अब यो विषय संसद बाहिर पनि चर्किने देखिएको छ ।
बुधबार योगेशको संसदमा माओवादीप्रति आक्रामक सम्बोधनपछि अहिले माओवादीका नेता तथा कार्यकर्ता उनीमाथि खनिन थालेका छन् ।
यसैक्रममा माओवादी केन्द्रका सांसद राजन दाहालले योगेशलाई ‘बैगुनी केटो’ भन्दै महान जनयुद्धको बलामा प्राप्त उपलब्धिहरु उपभोग गर्ने अनि महान जनयुद्धलाई हिंसा भन्ने ? भन्दै प्रश्न गरेका छन् ।
सांसद दाहालले आफ्नो स्ट्याटसमा योगेशलाई नम्बरी ठग समेत भनेका छन् ।
दाहाललले लेखेको सो स्ट्याटस माओवादी केन्द्रका उपमहासचिव एवं पुर्व अर्थमन्त्री जनार्दन शर्माले समेत फेसबुक मा शेयर गरेका छन् ।
त्यस्तै विहिबार संसद बैठकमा माओवादी केन्द्रका सांसद छिरिङ डुम्डुल लामाले योगेश भट्टराईले जनयुद्धको समयमा चन्दा असुली र हतियार तस्करी गरेको आरोप लगाएका छन् ।
उनले आफैं हिंसाको गतिविधिमा संलग्न रहेका योगेशले महान जनयुद्धलाई हिंसा भनेको भन्दै आपत्ति जनाएका थिए ।
उनले भने- ‘जनयुद्धको नाममा चन्दा असुलेर, हतियार तस्कर गर्ने, आफैं हिंसाको गतिविधि गर्ने नाइकेले महान जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवारी हो ।’
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ