शुक्रबार, अशोज ४, २०८१

मुख्यसचिवमा एकनारायण अर्याल


कान्तिपथ


काठमाडौं । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । अर्याल २ वर्षभन्दा बढी मुख्यसचिव रहनेछन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । हाल गृह सचिव रहेका अर्याल सचिवहरुको वरियतामा चौथो नम्बरमा थिए ।

राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली पहिलो, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी दोस्रो र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई तेस्रो वरीयतामा थिए । तर चौथो नम्बरमा रहेका अर्याललाई मुख्यसचिव बनाएको छ ।

निजामती सेवा ऐन २०४९ को दफा १९ मा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव पदमा बढुवा गर्दा बहालवाला सचिवहरुमध्येबाट नेपाल सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा छनोट गरी बढुवा गर्ने उल्लेख छ ।

असार ९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेदेखि नयाँ मुख्यसचिवको दौड सुरु भइसकेको थियो । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नयाँ मुख्य सचिव नियुक्ति नगरी गड्तौलालाई कामु मुख्य मुख्यसचिवको जिम्मेवारी दिउको थियो । तर, असार अन्तिममा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि नयाँ सरकारले छोटो कार्यकाल भएकी गड्तौलालाई मुख्य सचिव बनाएसँगै अर्यालको सम्भावना बढेको थियो ।

प्रधानमन्त्री ओलीसँग निकट सम्बन्धका कारण सबैभन्दा बलियो दाबेदार थिए । बिहीबार उनी मुख्य सचिव बनेसँगै पहिलो नम्बरका सचिव ज्ञवाली ५ वर्षे सेवा अवधि पूरा गरेर २२ भदौमा अवकाशमा जाने छन् ।

हालका मुख्य सचिव लीलादेवी गड्तौलाले ५८ वर्षको उमेर हदका कारण भोलि शुक्रबार अवकाश पाउँदैछिन् । गड्तौला १० साउनमा मुख्यसचिव नियुक्त भएकी थिइन् । भोलि शुक्रबार नवनियुक्त मुख्यसचिव अर्याललाई पद हस्तान्तरण गरेर सिंहदरबारबाट बिदा हुनेछिन् ।

मुख्यसचिव अर्याल विसं २०४६ माघ ४ गते निजामती सेवामा प्रवेश गरेका थिए । उनले नायब सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका हुन् । विसं २०५१ फागुन ४ गते शाखा अधिकृत नियुक्त भएका अर्याल २०५८ माघ ६ गते उपसचिव भएका थिए । त्यसपछि उनी २०६७ फागुन १९ गते सहसचिव र २०७६ फागुन १८ गते सचिवमा नियुक्त भएका थिए । अहिलेसम्म उनले निजामती सेवामा ३४ वर्ष ७ महिना ९ दिन बिताइसकेका छन् ।

अर्याल यसअघि मकवानपुर, काठमाडौं र तनहुँको प्रमुख जिल्ला अधिकारी भइसकेका छन् । उनले गृह मन्त्रालयमा सहसचिवको रूपमा रहँदा गृह प्रशासन सुधार, योजना निर्माण र त्यसको कार्यान्यवनमा महत्त्वपूर्ण योगदान गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो पटक उपप्रधान एवम् गृहमन्त्रीमा नियुक्त भएपछि अर्यालले गृह सचिवको जिम्मेवारी पाएका थिए । गृह सचिवको जिम्मेवारी पाउनुअघि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक तथा पूर्वाधार क्षेत्र हेर्दै आएका थिए । ४ वर्षअघि सहसचिवबाट सचिवमा बढुवा भएपछि अर्यालको पहिलो पदस्थापन काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भएको थियो ।

अहिले काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी सहसचिवकै कायम भइसकेको छ । काठमाडौं महानगरपछि अर्यालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव जिम्मेवारी सम्हालेका थिए भने त्यसपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए ।

श्रम मन्त्रालयपछि उनको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको थियो । अर्याल मुख्यसचिव नियुक्त नभएको भए ५ वर्षे सचिवको कार्यकालबाट ६ महिनापछि आगामी फागुन १८ गते अनिवार्य अवकाशमा जाने थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत