शनिबार, भदौ २२, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • नेसपा यादव–श्रेष्ठ पक्षले बाबुराम पक्षलाई भन्यो, अराजनीतिक गालिगलौज बन्द गर्नुस्

नेसपा यादव–श्रेष्ठ पक्षले बाबुराम पक्षलाई भन्यो, अराजनीतिक गालिगलौज बन्द गर्नुस्


कान्तिपथ


काठमाडौं । नेपाल समाजवादी पार्टी महिन्द्र राय यादव–गंगानारायण श्रेष्ठ पक्षले आफ्ना पार्टीका अध्यक्ष र सहअध्यक्षमाथि अराजनीतिक गालिगलौज बन्द गर्न आग्रह गरेको छ ।

नेपाल समाजवादी पार्टी यादव–श्रेष्ठ पक्षले शनिबार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै भाद्र १४ गते प्रवक्ता कृष्ण शर्माको नामबाट वक्तव्य जारी भएकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

वक्तव्यमा पार्टीका अध्यक्ष महिन्द्र राय यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठमाथि तल्लो स्तरको आरोप लगाइएको भन्दै सो आरोपको खारेज गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

महासचिव रमेश प्रसाद यादवको हस्ताक्षरमा निकालिएको विज्ञप्तीमा आफ्ना अध्यक्ष र सहअध्यक्षमाथिको अराजनीतिक गालिगलौज बन्द गर्न अनुरोध गरिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘प्रवक्ता कृष्ण शर्माको नामबाट मिति २०८१ भाद्र १४ गते प्रकाशित वक्तव्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । वक्तव्यमा पार्टीका अध्यक्ष र सहध्यक्षमाथि तल्लो स्तरको आरोप लगाएको छ, त्यसको हाम्रो पार्टी खारेज गर्दछ । साथै अराजनीतिक गालिगलौज बन्द गर्न अनुरोध पनि गर्दछ ।’

नेकपा(माओवादी केन्द्र)सँग एकता गर्ने कि नगर्ने भन्ने विवाद हुँदा नेपाल समाजवादी पार्टी दुई खेमामा बाँडिएको छ । दुई अध्यक्ष रहेका नेसपामा डा. बाबुराम भट्टराई पक्षधर माओवादी केन्द्रसँग एकता नगर्ने पक्षमा छ भने अर्का अध्यक्ष महिन्द्र राय यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठ पक्षधर भने माओवादी केन्द्रसँग एकता गर्ने तयारीमा रहेको छ । दुवै पक्षले छुट्टाछुट्टै पार्टीका गतिविधिहरु सञ्चालन गर्ने गरेका छन् । यसै सन्दर्भमा शुक्रबार डा. भट्टराई पक्षले प्रेस विज्ञप्ती जारी गर्दै यादव र श्रेष्ठलाई अनुशासनहिन व्यक्तिको संज्ञा दिदैँ दुषित मनशायका साथ पार्टीको नाम, झण्डा र एजेण्डाहरुको दुरुपयोग गरी जनतालाई भ्रमित गरिरहेको आरोप लगाएको थियो ।

सो आरोपको खण्डन गर्दै यादव–श्रेष्ठ पक्षले पार्टी केन्द्रीय समितिको बैठक र निर्णय दुई अध्यक्षको सहमति र उपस्थितिमा गर्नुपर्नेमा अध्यक्ष भट्टराईले २०८० चैत्र ५ गते अवैधानिक रूपमा एकतर्फी ढंगबाट केन्द्रीय समितिको बैठक बोलाई पार्टीको महाधिवेशन २०८१ माघमा गर्ने घोषणा सहित केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको आरोप लगाएको छ ।

त्यस्तै आयोजक समिति घोषणापश्चात् २०८१ ज्येष्ठ १२ गते पुनः आफैंले महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको केन्द्रीय समितिलाई थपघट गरी २०८१ ज्येष्ठ १६ गते अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएर अवैधानिक र अराजनीतिक निर्णय गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । भट्टराई पक्षको उक्त निर्णयहरू अवैध घोषणा गर्न २०८१ असार १३ गते निर्वाचन आयोगमा आफुहरुले निवेदन दर्ता गराएको भन्दै आफुहरु निर्वाचन आयोगको जवाफको प्रतीक्षामा रहेको बताइएको छ । आवश्यक परे थप कानुनी प्रक्रियामा जान पनि पार्टी तयार रहेकोे यादव–श्रेष्ठ पक्षको भनाई छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत