काठमाडौँ । इजरायलले गाजा पट्टीमा हमासले बन्धक बनाएका ६ जनाको शव आफ्नो सुरक्षा बलले फेला पारेको जनाएको छ ।
इजरायली सेना (आईडीएफ) का अनुसार गाजाको रफाह सहरको भूमिगत सुरुङमा शनिबार ती शव फेला परेका हुन् । हमासले अक्टुबर ७ मा गरेको आक्रमणपछि उनीहरूलाई बन्धक बनाएको थियो ।
एक विज्ञप्तिमा, इजरायली रक्षा बल (आईडीएफ) ले शनिबार रफाह क्षेत्रमा भूमिगत सुरुङमा यी शवहरू भेटिएको बताएको छ ।
आईडीएफका अनुसार मारिएका बन्धकहरूको नाम कार्मेल ग्याट, इडेन येरुशाल्मी, हर्ष गोल्डबर्ग-पोलिन, अलेक्ज्याण्डर लोबानोभ, अल्मोग सरुसी र मास्टर सर्जेन्ट ओरी डानिनो रहेको छ ।
मारिएका बन्धकहरूमध्ये अमेरिकी नागरिकको मृत्युप्रति अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू निराश र आक्रोशित भएको बताएका छन् ।
हमासले अक्टुबार ७ मा गरेको आक्रमणपछि २५१ जनालाई बन्धक बनाएको थियो । तीमध्ये ९७ जना अझै पनि हमासको नियन्त्रणमा छन् । तीमध्ये कम्तीमा २७ जनाको ज्यान गइसकेको अनुमान छ ।
हमासले बन्धक बनाएका व्यक्तिको सूचीमा नेपाली विद्यार्थी विपिन जोशी पनि छन् । परराष्ट्र मन्त्रालयले जोशीको रिहाइका लागि सम्भव भएसम्मका सबै कूटनीतिक माध्यमहरूमार्फत पहल भइरहेको बताउँदै आएको छ । तर पनि हालसम्म उनको अवस्था अज्ञात छ ।
अक्टुबर ७ को आक्रमणमा इजरायलमा करिब १२ सय जनाले ज्यान गुमाएका थिए । त्यसको जवाफी कारबाहीमा इजरायलले सुरू गरेको आक्रमणमा गाजामा ४० हजार ५३० जनाको ज्यान गइसकेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ