नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नं. ७ सुनखानीमा बुबा अर्जुनबहादुर पाण्डे ठकुरी र आमा मिश्रीमाया ठकुरीको कोखबाट २०५७ साल मंसिर २४ गतेका दिन मेरो जन्म भएको थियो। मेरो परिवार बुबा, आमा, दिदीहरू सीता, सरिता, संगीता, कविता, रश्मिता, म र भाइ अनुज ठकुरी गरि ९ जनाको थियोे। म जन्मेको २ वर्ष र भाई जन्मेको ७ महिना भएको थियो। देश माओवादी जनयुद्धको चरम अवस्थाबाट अगाडि बढिरहेको थियो। जाडोयामको बेला २०५९ साल मंसिर २४ गते दिन एकबिहानैको समयमा घरमा शाहि सेनाहरू आई बुवालाई बाटो देखाइदिनुहोस् हामीले बाटो देखेनौ भनी बाटो देखाउने सिलसिलामा शाहि सेनाले घरबाट लैजानुभयो। जब घरमा खाना खाने समय भयो अब बुबा आउनुहुन्छ होला भन्ने आशामा मेरी आमा श्रीमानको पर्खाइमा र हामी छोराछोरी बुबाको पर्खाइमा बाटो हेर्दाहेर्दै दिन बित्यो, हप्ता, महिना बर्षौ बित्यो तर बुबा फर्केर आउनुभएन। हाम्रो पर्खाइ र समयले कहिल्यै खुसी ल्याएन्। आजसम्म पनि मेरी आमा र हामी छोराछोरीहरू बुबाको पर्खाइमा नै छौ।
ग्रामीण परिवेश साधारण किसानको परिवार मेरी आमाको काधमा छोराछोरीलाई शिक्षा दीक्षा दिने र हुर्काउने जिम्मेवारी काधमा थियो। बुबाको अभावको जिन्दगी समाजको अपहेलना आफन्त र छिमेकीहरूको व्यवहारलाई झेल्दै हाम्रो परिवारको र मेरो बाल्यकाल बित्यो । आमाको त्याग समर्पण छोराछोरीको भविष्यप्रतिको दृढताले आफन्त र समाजको सहायता बिना पनि सहि संस्कार र मार्ग दिन सक्नुभयो।
देशमा राजनीतिक परिवर्तनको लागि जनयुद्धको चपेटामा परिरहेको थियो। जसमा मेरो साधारण किसान परिवार पनि त्यसबाट अछुतो हुन सकेन। गाउँमा कृषि कर्म गरेर बसिरहनुभएको मेरो बुबालाई यो राज्यले आजसम्म कहाँ पुर्याएको छ पत्ता लाग्न सकेको छैन। सानैदेखी राज्यबाट परिवारमा परेको दमन सामाजिक अन्याय र अत्याचारले सिमा नाघेको र आफैं पिडामा परेको बारबार महसुस भईरहन्थ्यो। त्यतिबेला हामी र हाम्रो परिवारको घाउमा मलम लगाउन खोज्ने माओवादी पार्टी बाहेक कोही थिएनन्। त्यसैले पनि होला ९/१० बर्षकै उमेरदेखि माओवादी पार्टीको झण्डा र रक्तरन्जित कलम र तारा चिन्ह रहेको अखिल (क्रान्तिकारी) को झण्डाले मन जितिरहेको थियो।
पारिवारिक पिडामा सारथि बन्दै अन्याय र अत्याचारको विरूद्द माओवादी उठाएको आवाजहरू दलित महिला मुस्लिम सिमान्तकृतहरूको मात्र नभएर आफ्नै पिडामा मलम लगाउन खोजेको जस्तो आभास हुने गर्दथ्यो। मलाई पनि सानैदेखि माओवादीको झण्डा बोकेर हिड्न मन लाग्थ्यो र जान्थे। माओवादी पार्टीको कार्यक्रम आफ्नै कार्यक्रम लागेर सबैमा सहभागी हुन्थे। विद्यार्थीहरूको विभिन्न पिडाहरूमा र आफुजस्तै समस्यामा रहेकाहरूलाई देख्दा आफ्नै समस्या भन्ने महसुस हुने गर्दथ्यो।
जब माओवादी निकट अखिल (क्रान्तिकारी) सांगठनिक अभियानमा म अध्यायन गर्ने विद्यालयसम्म आइपुगे। मैले नेपालमा रहेको शिक्षाको अवस्था र आज नेपालमा भैरहेको राजनीतिक परिवर्तनमा विद्यार्थीको भुमिकाबारे बुझ्न पाए। आज नेपालको शिक्षा मुलत समाजवादी शिक्षा निशुल्क हुनुपर्ने र समयसापेक्ष पाठ्यक्रम र प्रविधियुक्त शिक्षा आजको आवश्यकता रहेको र शिक्षाको जिम्मेवारी पुर्ण रूपमा राज्यले लिनुपर्छ भन्ने कुरा अखिल (क्रान्तिकारी) को रहेको र यीनैको पक्षमा रहेर आफ्नो सांगठनिक क्रियाकलाप गरिरहेकाले मलाई पनि सदस्यता लिएर नै नेतृत्व लिनुपर्छ भन्ने लाग्यो। आर्थिक अभावमा परेर, बुबाआमा गुमाएका बालबालिकाको सहारा भएर साथै म र मेरो परिवारले भोग्नुपरेको जस्तै पिडामा रहेको बालबालिकाको शिक्षाका लागि अखिल (क्रान्तिकारी) मार्फत समाजमा स्थापित गराउने उद्देश्यले अखिल (क्रान्तिकारी) शिवपुरी गाउँपालिकाको संयोजकको जिम्मेवारी लिएर क्रियाशील भए। अखिल (क्रान्तिकारी) जिल्लाको कोषाध्यक्ष हुदैँ हाल केन्द्रीय सदस्यको रूपमा रहेर बिशेष गरि शैक्षिक मुद्दाहरूमा म र म जस्तै विद्यार्थीहरूको आवाज बनेर अगाडि बढिरहेको छु। त्यसैले मलाई जनताको छोराछोरी सबै अखिल (क्रान्तिकारी) र विद्यार्थीको साथी अखिल (क्रान्तिकारी) भन्न कुनै संकोच छैन्। अखिल क्रान्तिकारी जिन्दावाद ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ