बुधबार, भदौ २६, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • सूर्यदर्शन सहकारी प्रकरण : लामिछानेसँग कास्की प्रहरीले लियो वयान

सूर्यदर्शन सहकारी प्रकरण : लामिछानेसँग कास्की प्रहरीले लियो वयान


कान्तिपथ


काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको वचत अपचलन गरेको आरोप लागेका पूर्व गृहमन्त्री रवि लामिछानेसँग प्रहरीले वयान लिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेलाई एक हप्ताअघि नै जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्मा सहितको टोलीले काठमाडौं आएर वयान लिएको हो ।

लामिछानेको समेत नाम उल्लेख गरेर पूरक जाहेरी परेपछि त्यसबारे लामिछानेसँग वयान लिएको हो । त्यसैगरी सोही प्रकरणमा रास्वपाका सहमहामन्त्री विपिन कर्माचार्य र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिएको छ ।

सूर्यदर्शन सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा लगेको र लामिछानेकै नाममा समेत ऋण लिएको भेटिएपछि १६ माघ २०८० मा वचतकर्ताले उनीविरुद्ध पूरक जाहेरी दिएका थिए । तर लामिछानेसहित तीनै जनाले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आफूहरुको संलग्नता अस्वीकार गरेका छन् ।

३१ असार २०७८ मा लामिछानेको नाममा सहकारीको १ करोड रकम निकासा गरिएको भेटिएको थियो । पछि उक्त ऋण फर्छ्यौट भएको पनि भेटिएको थियो । यसबारे प्रहरीले लामिछानेसँग सोधपुछ गरेको हो । रास्वपाका सहमहामन्त्री आचार्य गोर्खा मिडिया नेटवर्ककको क्रिएटिभ डाइरेक्टर थिए । उनको नामबाट ६ पुस २०७८ मा सूर्यदर्शन सहकारीको १ करोड रुपैयाँ गोर्खा मिडियामा गएको थियो ।

ग्यालेक्सी टेलिभिजनका पूर्वसंस्थापक छविलाल जोशीसँग पनि प्रहरीले बयान लिएको छ । जोशी पनि ग्यालेक्सी टेलिभिजनको लगानीकर्ता अर्थात् जीबी (गितेन्द्रबाबु) राईका साझेदार थिए । पछि उनी गोर्खा मिडियाबाट बाहिरिएका थिए । सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरिएको र उनी पनि गोर्खा मिडियाको कुनै समय साझेदार भएका हिसाबले प्रहरीले उनको पनि बयान लिएको हो ।

सूर्यदर्शन सहकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार रुपैयाँ हिनामिना गरेको भन्दै वचतकर्ताले सहकारीका पदाधिकारी विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए ।

२०७६ सालदेखिको विवरण केलाउँदा १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ रुपैयाँ ठगिएको विवरण भेटिएको थियो । तर, काठमाडौं शंखमुलबाट चार वटा सर्भर बरामद गरेपछि २०७२ सालदेखिको ठगी विवरण पत्ता लागेको थियो । जसअनुसार सर्भर बरामद भएपछि ठगीको बिगो बढेर १ अर्ब ५० करोड ९० लाख ३० हजार ५ सय ३ रुपैयाँ पुगेको भेटिएको छ ।

२४ माघ २०८० मा पूर्वडीआईजी जोशीले भाडामा लिएको शंखमुलस्थित घरमा छापा मारेर सहकारीका तथ्यांक रहेका चार वटा सर्भर समेत प्रहरीले बरामद गरेको थियो । डीआईजी जोशीको घरमा नेचर हब्र्स इन्टरनेसनल प्रालिको कार्यालय राखिएको थियो ।

सूर्यदर्शन सहकारीको वचत अपचलनमा सुरुमा जाहेरी परेका १९ जनामध्ये पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे(, भविश्वर अर्याल, सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामी मगर र सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पुर्पक्षका लागि थुनामा छन् । सूर्यदर्शनका पूर्वसचिव समेत रहेका ४८ वर्षीय अनुज नकर्मी पक्राउ परेका थिए । उनी पनि पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

यो प्रकरणमा सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनका दाजु भूपेन्द्र, हालका अध्यक्ष तथा व्यवस्थापक थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारी, मनोज नकर्मी, सुरज श्रेष्ठ, कविता तामाङ, आइस्मा गुरुङ, ललिता तामाङ, सागर केसी, दिनेश रोका, लेखा अधिकृत सृष्टि मानन्धर र कर्जा अधिकृत बुद्धि गुरुङ गरी १३ जना फरार छन् । फरारमध्ये जीबी, उनका दाजु भूपेन्द्र र थानबहादुरविरुद्ध ‘रेड नोटिस’ समेत जारी भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत