शनिबार, अशोज २६, २०८१

घारमा नै मौरी धमाधम मर्न थालेपछि विज्ञटोली जुम्लामा

रासस


कान्तिपथ


जुम्ला । जुम्लाका किसानले पालेका मौरी घारमा नै धमाधम मर्न थालेपछि यसको अध्ययन गर्न मौरी विकास केन्द्र ललितपुर गोदावरीको विज्ञटोली जुम्ला आइपुगेको छ ।

मौरीविज्ञ तीर्थकुमार श्रेष्ठ नेतृत्वको टोली अनुसन्धानका लागि जिल्ला आइपुगेको हो । टोलीमा किट विकास महाशाखाबाट सुनिलकुमार जैसवाल र धर्म जैसीसमेत सहभागी छन् ।

यहाँ आएको टोलीले मौरीपालक किसान र जिल्ला कृषि विकास कार्यालयसँग मौरीको अवस्थाबारे जानकारी लिन समेत थालेको छ । मौरीपालकका घार हेर्न र टोली गाउँगाउँसम्म पुग्ने जनाइएको छ ।

यहाँमा सेराना जातको मौरी यहाँका किसानले पाल्दै आएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए। व्यावसायिक रूपमा मौरीपालन गरेका किसानको घार अध्ययन टोलीले अध्ययन गर्नेछ ।

सोमबार पातारासी गाउँपालिका–१ पेरेगाउँमा अध्ययन टोली पुगेर अनुसन्धान गरिसकेको छ । आज गुठीचौर गाउँपालिकाको गुठीगाउँ र बुधबार तातोपानी र चन्दननाथका मौरीपालकका घार हेर्ने र किसानसँग छलफल गरिने कृषि विकास कार्यालयका प्रमुख देवकोटाले जानकारी दिए ।

अध्ययन टोली जुम्ला पुगेकाले मौरीमा देखिएको रोग पत्ता लाग्ने आशा किसानले गरेका छन् । मौरीघारको अवस्था, चरन क्षेत्र र रोग कीराका बारेमा टोलीले अध्ययन गर्ने कृषि विकास कार्यालयले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत