विर्तामोड । झापाको अर्जुनधारामा पूजाको प्रसाद खाँदा ६० भन्दा बढी बिरामी भएका छन् ।
अर्जुनधारा नगरपालिका ९ की खरबन्दीकी रिता निरौलाको बुधबार घरमा लगाएको पूजाको प्रसाद खाँदा उनको घरमा आएका पाहुना र टोलवासी बिरामी भएका हुन् ।
पूजामा गएर प्रसाद खाने ६० भन्दा जना भन्दा बढी बिरामी भएको वडाध्यक्ष भीष्म मिश्रले बताए । पूजामा गएकाहरूले सब्जी र रोटी अचार खाएका थिए ।
प्रसादी खाने सबै बिरामी परेको स्थानीय विद्या कटवालले जानकारी दिइन् । उनका अनुसार पूजा घरमा पुगेर प्रसाद खाने धेरै बिरामी छन् ।
घरमा ल्याएको प्रसाद खाने पनि बिरामी भएका छन् । ‘पूजा घरमा पुगेर सब्जी र रोटी अचार खाने धेरै बिरामी छन् । घरमा ल्याएको प्रसाद खानेहरुलाई पनि समस्या छ’, उनले भनिन् ।
सब्जी अजार र रोटी खानेहरू अधिकांशलाई डायरिया र बान्ता भएको छ । केहीलाई ज्वरो समेत आएको अध्यक्ष मिश्रले बताए ।
बिरामी भएकाहरूलाई स्थानीय क्लिनिकहरूमा राखिएको छ । पूजाको प्रसादीमा फुड पोइजनिङ हुँदा गाउँ नै बिरामी परेको अध्यक्ष मिश्रले बताए ।
मिश्रका अनुसार गाउँका स्थानीय र पूजाका लागि पाहुना आएका आफन्त गरी ५५-६० जना बिरामी भएका छन् । बिरामीको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ