शुक्रबार, अशोज १८, २०८१

कसरी आँउछ भाईरल ज्वरो ?

गाउँ गाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थाले


कान्तिपथ


बैतडी । मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । यहाँका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी, निजी क्लिनिकमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका स्वास्थ्यकर्मीले बताएका हुन् ।

पछिल्लो केही सातायता जिल्लाभरिका स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामीको चाप बढेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले जानकारी दिए । उनले भने, “मौसममा आएको परिवर्तनसँगै जिल्लाका गाउँगाउँमा भाइरल ज्वरोको सङ्ख्या बिरामी बढेको छ । जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये सबैभन्दा बढी भाइरल ज्वरोका बिरामी हुने गरेका छन् ।”

अस्पातलका सूचना अधिकारी चन्द्र डोबालका अनुसार पहिलेको तुलनामा हाल भाइरल ज्वरोका बिरामी बढेका छन् । उपचारका लागि आउने बिरामीमध्ये ६० प्रतिशत भन्दा बढीमा भाइरल ज्वरो देखिएको उनले जानकारी दिए ।

उपचारका लागि आउने बिरामीमध्ये सबैभन्दा बढी भाइरल ज्वरोका रहेका भन्दै टाइफाइड, श्वासप्रश्वास, डेङ्गी, स्क्रब टाइफसलगायत समस्या भएका बिरामी आउने गरेका सूचना अधिकारी डोबालले बताए ।

प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा आउने बिरामीमध्ये ५० प्रतिशत भाइरल ज्वरोका बिरामी रहेका केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिए । उनले भने, “दैनिक ८० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेकामा करिब ५० प्रतिशत भाइरल ज्वरोका छन् ।”

मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक एक सय उपचारका लागि आउने गरेकामा ८० जनाको हाराहारीमा भाइरल ज्वरोका बिरामी पुग्ने गरेका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए ।

पुर्चौँडी क्षेत्रमा पनि अन्यको तुलनामा भाइरल ज्वरोको बिरामीको सङ्ख्या बढेको छ । स्वास्थ्य संस्थामा उपचार गर्न पुग्नेमध्ये अधिकांश भाइरल ज्वरोका बिरामी रहेका पुर्चौँडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्रप्रसाद अवस्थीले बताए ।

मौसम परिवर्तनका साथै अस्वस्थकर खानपीनले पनि भाइरल ज्वरोको सङ्क्रमण बढेको श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले बताए । उनले भने, “स्वास्थ्यचौकीमा उपचार गर्न आउने बिरामीमा भाइरल सङ्क्रमण देखिने गरेको छ । ज्वरोका बिरामीमा अन्य सङ्क्रमण पनि हुनसक्ने भएकाले परीक्षण गरेर मात्रै औषधि दिने गरेका छौँ ।”

पछिल्लो समय जिल्लामा भाइरल ज्वरोका साथै टाइफाइड, स्क्रब टाइफस, डेङ्गीलगायत बिरामी फेला परिरहेका जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख तीर्थराज भट्टले जानकारी दिए । ज्वरोका बिरामीले स्वास्थ्य संस्थामा जाँच गराएर मात्रै औषधि सेवन गर्न उनले सर्वसाधरणलाई आग्रह गरे ।

प्रमुख भट्टले ज्वरोका बिरामीले मेडिकलबाट आफूखुसी औषधि किनेर प्रयोग गर्ने भएकाले यसले थप समस्या हसने भएकाले चिकित्सकको सल्लाह अनुसार मात्र औषधि सेवन गर्नुपर्नेमा जोड दिए ।

कसरी आँउछ भाईरल ज्वरो ?

हावामा खेलिरहेका विषाणुहरु श्वासप्रश्वासको क्रममा नाकको माध्यमबाट मानिसको शरीरमा पुग्छ । भाइरसको प्रवेशसंगै नाक चिलाउने र नाक दुख्ने हुन्छ ।

जब भाइरस घाटीमा पुग्छ अनि घाटी खसखस गर्छ । अनि त्यो अन्तिममा फोक्समो पुगेपछि खोकी लाग्न थाल्छ । भाइरलको प्रवेश संगै नाकबाट हाछिउ आउने, रुघा लाग्ने, नाकको स्वर फेरिने, घाटीमा अप्ठेरो पर्ने, स्वर विग्रने गर्छ ।

फोक्सोमा पुगीसकेपछि भाइरस रगममा मिसिन्छ र शरीरका सम्पूर्ण भागमा फैलिन्छ । रगतमा फैलनासाथ मानिसमा ज्वरो आउछ । ज्वरो आउदा शरीरमा तातो हुन्छ । किनकी ताप निकाल्न शक्ति चाहिन्छ ।

शरीरमा रहेको शक्ति ज्वरो निकाल्नमा खर्च हुने भएपछि शरीरको प्रतिरोधात्मक शक्ति कमजोर हुने र भाइरसको शक्ति बलियो हुन्छ । ७२ घण्टा देखी ५ दिनसम्म बढी क्रियाशिल हुने भाइरल त्यसपछि आफसे आफ हराएर जान्छ ।

भाइरल ज्वरोबाट जोगिन के गर्ने ?

तपाईको परिवारमा कुनै एक जनालाई रुघाखोकी लाग्यो भने त्यसको भाइरस अन्य व्यक्तिमा पनि तत्कालै सर्न सक्छ । त्यसैले संक्रमित मासिनले मास्कको प्रयोग गर्नु उपयुक्त हुन्छ । ताकि हाछिउ गर्दा , खोक्दा उसको रोग अन्य व्यक्तिमा प्रवेश गर्ने कम सम्भावना हुन्छ ।

अर्को उपाय भनेको मन तातो पानी खानुपर्छ । जतिबढी मनतातो पानी खायो त्यतिनै छिटो सो पानी रगतमा फैलने र भाइसरलाई पिसावको माध्यमबाट बाहिर फाल्ने काम गर्छ । जति धेरै पानी खायो त्यतिनै छिटो निको हुन्छ ।

गाँउघरतिर ज्वरो आउदा बेसार पानी पनि खाने चलन छ । बेसार तथा अदुवालाई आयुर्वेदमा एन्टीसेप्टीकको रुपमा लिने गरिन्छ । एन्टीसेप्टीक भनेको जिवाणुलाई न्युन गर्ने तत्व हो । त्यसैले यसको सेवनले विगत गर्दैन ।

अर्को भनेको ज्वरो रोक्ने औषधी सिटामोल खानु राम्रो यसले ज्वरो आउन खर्चिने शरीरको शक्ति बचत हुन्छ । त्यसले छिटो भाइरसलाई हराउन मद्धत पुर्‍याउछ । यति गरेमा यसको आफै निको भएर जान्छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत