शनिबार, मंसिर २२, २०८१

छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना


कान्तिपथ


मलेखु । जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही गरेको छ ।

यात्रु बोक्ने अनुमति नभएको सवारीसाधनले छतमा खचाखच यात्रु बोक्नेक्रम बढ्दै गएपछि स्थानीय प्रशासनले कारबाहीलाई कडाइ गरेको हो । खाद्यान्न तथा अन्य सामानले भरिभराउ भएका जिपमा जोखिमपूर्ण ढंगले यात्रु चढाएर सदरमुकामबाट ग्रामीण भेगतर्फ जाँदै गरेका र ग्रामीण भेगबाट सदरमुकाम आउँदै गरेका जिपलाई बीच बाटोमै रोकेर २० हजार रुपैयाँसम्म जरिवाना गराइएको छ ।

पटकपटक सचेत गराउँदा पनि अटेर गरेकाले ती सवारीसाधनलाई कारबाही गर्नुपरेको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार यातायात व्यवसायी, सवारी चालक र सरोकारवाला निकायका प्रतिनिधिलाई राखेर सवारी सञ्चालनका विषयमा पटकपटक जानकारी गराउँदा पनि कुनै सुधार नदेखिएपछि गलत ढंगबाट चलिरहेका रातो नम्बर प्लेटका बोलेरो जिपहरु कारबाहीमा परेका हुन् ।

केही दिनयता प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसमेत फिल्डमा खटिएर बजार तथा यातायात अनुगमनलाई तीव्र पारेको छ ।

अनुगमन टोलीले उपभोक्ताको हितविपरीत देखिएका सबै गतिविधिको निरीक्षण गरी कारबाही गर्दै आएको छ ।

अनुगमनका क्रममा रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोकेको फेला पारेपछि र यात्रुवाहक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु चढाएको भेटिएपछि यात्रु ओरालेर गाडी नियन्त्रणमा लिने गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।

सदरमुकाम धादिङबेंसीबाट ज्वालामुखी गाउँपालिकाको मैदीतर्फ जाँदै गरेको दुई जिपलाई २०/२० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

क्षमताभन्दा धेरै यात्रु चढाएर असुरक्षित यात्रा गराएको भन्दै प्रदेश ३–०१–०२४ च ६८३९ र ग २ च ९०५३ नम्बरको बोलेरो जिपलाई नियन्त्रणमा लिइ जरिवाना तिराएर छोडिएको अनुगमन टोलीका सदस्य एवं उद्योग वाणिज्य कार्यालय धादिङका प्रमुख चूडामणि पुरीले जानकारी दिए ।

चालकसहित पाँच जना चढ्न मिल्ने सिट भएको जिपमा २० जनाभन्दा बढी यात्रु चढाएको भेटिएपछि ती जिपलाई नियन्त्रणमा लिएर कारबाही गरिएको उनले जानकारी दिए । File photo



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत