म्याग्दी । म्याग्दीको बेनीका अर्जुन सुवेदीले दसैँमा घरमा खान, पाहुनालाई प्रसाद र मान्यजनकहाँ जाँदा कोसेली लैजान बिहीबार ३० किलो स्याउ किने ।
“छिमेकी जिल्ला मुस्ताङमा उत्पादन हुने सिजनको फलफूल स्याउ स्वादिलो र रसिलो हुने भएकाले हरेक वर्ष दसैँमा कसेली लैजाने चलन छ”, उनले भने, “अन्य ठाउँमा उत्पादन हुने स्याउको तुलनामा मुस्ताङी स्याउ स्वादिष्ट र स्वस्थकर भएकाले ग्राहकको रोजाईमा परेको हो ।”
लामो समयसम्म भण्डारण गर्न सकिने र आयातित भन्दा सस्तो भएकाले म्याग्दीलगायत गण्डकी प्रदेशका जिल्लामा दसैँ तिहार जस्ता चाडपर्वमा मुस्ताङी स्याउको खपत धेरै हुने गर्छ ।
बेनीका फलफूल पसलहरूमा बिहीबार दिनभर स्याउ किन्नेको चहलपहल थियो । बेनीका व्यापारी विद्यानन्द शाहले अन्य समयको तुलनामा स्याउको व्यापार दश गुणा बढी भएको बताए ।
“अघिपछि दैनिक १० किलोग्रामको अनुपातमा स्याउ बिक्री हुन्छ,” उनले भने, “दसैको याममा दैनिक दुई सय किलोग्राम स्याउ ल्याउँदा पनि पुग्दैन ।” विजयादशमीको टीका र जमरा लगाएपछि स्याउ, केरा, कुराउनी, अम्बा जस्ता फलफूल प्रसाद दिने चलन छ ।
घरमा आउने पाहुनालाई प्रसाद दिने मात्र नभएर मान्यजनकहाँ दसैँको टीका, जमरा र आशीर्वाद लिन जाँदा पनि सजिलो हुने भएकाले स्याउनै बोकेर जाने गरेको बेनपा–२ की सुजता शर्माले बताइन् ।
कृषक र व्यापारीहरूका अनुसार मुस्ताङमा उत्पादन भएको स्याउ दसैँमा धेरै खपत हुने गर्छ । स्याउ व्यापारी सिवाङ तामाङले दसैँका लागि २० ट्रक स्याउ मुस्ताङबाट पोखराको मन्डीमा पठाएको बताए। दसैँमा माग उच्च हुने भएकाले अघि नै टिपेर बजार पठाउने गर्छन् । चाडपर्वको समयमा स्याउले मूल्य पनि राम्रो पाउँछ ।
बेनीमा प्रतिकिलोग्राम दुई सय २० का दरले मुस्ताङी स्याउ बिक्री भएको छ । मुस्ताङमा स्याउ जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निमित्त वरिष्ठ कृषि विकास अधिकृत नेत्रप्रसाद भट्टले दसैँमा मुस्ताङमा उत्पादन भएको स्याउको ठूलो मात्रा खपत हुने बताए ।
चाडपर्वको अलावा मुस्ताङ घुम्न आउने पर्यटक र पाहुनाहरुले कोसेलीको रूपमा स्याउ, स्याउको सुकुटी, स्याउको मदिरा, ओखर, जिम्बु, स्थानीय जातको सिमिको दाल किनेर लैजान्छन् । दसैँअघिको तीज र पछिको तिहार तथा छठ पर्वका लागि पनि मुस्ताङको स्याउ बजार पठाउने गरिएको मार्फाका कृषक लालप्रसाद हिराचनले बताए ।
मुस्ताङका बगैँचामा पाकेका स्याउले बास्नादार भएका छन् । किसान र व्यापारीहरूलाई स्याउ टिपेर बजार पठाउने चटारो छ । यसपालि उच्च घनत्व जातको स्याउ भदौको १० र १५ गतेबाट टिप्न थालिए पनि स्थानीय जातको स्याउ असोज १ गतेदेखि टिपेर बजार पठाउन थालिएको थियो ।
अनुकूल मौसम, बगैँचा व्यवस्थापन, रोग, किराको समस्या कम देखिएकाले उत्पादन वृद्धिसँगै गुणस्तर पनि बढेको कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्रसार अधिकृत निशान खड्का मगरले बताए । गत वर्षको तुलनामा २५ देखि ३० प्रतिशतले स्याउ उत्पादन बढेको उनले बताए ।
मुस्ताङको एक हजार ४७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा ५८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । ३८ हेक्टर क्षेत्रफल जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती भएको छ । गत वर्ष चार हजार नौ सय ७५ मेट्रिकटन स्याउ उत्पादन भएको र रु. ४९ करोड २५ लाख बराबरको स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।
म्याग्दी, बागलुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायतका सहरका व्यापारी बगैँचामा नपाक्दै अग्रिम पैसा दिएर ठेक्कामा स्याउ खरिद गरेका छन् । बिक्री नहुने साना दाना भएका स्याउ मदिरा र सुकुटी बनाउन प्रयोग हुन्छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ