शनिबार, मंसिर २२, २०८१

बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्यो


कान्तिपथ


काठमाडौँ । केही समयअघि मुलुकमा भएको बाढी र डुवानबाट चितवनको माडी क्षेत्रमा धानबाली, माछापालन, सडक, कल्भर्ट र नहरका बाँधमा ठूलो नोक्सानी भएको छ ।

स्थानीय घाँघर खोलामा आएको बाढी पसेर सयौं बिघामा पाक्न लागेका धानबाली नष्ट गरेको छ भने कल्भर्ट र नहरका बाँध भत्किएर गाँउबस्ती डुवान मात्र नभई आवत–जावत गर्ने सडकमा पनि क्षति पु-याएको छ ।

माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतो भन्नुहुन्छ, “मानवीय क्षति नभएपनि बाढीले धानबाली र माछापालनमा ठूलो क्षति पु-याएको छ, कुलो र नहरका बाँध तथा कल्भर्ट भत्किएका छन् ।”

खोलामा निर्माण गरिएको बाँध भत्किएर हजारौं विघाका जमिनमा पोखरी खनेर पालिएका माछा बगाएको र काट्ने बेलाको धानबालीमा बाढी पसेर नष्ट बनाएको उनको भनाइ छ ।

नगरप्रमुख महतोसँग राससका प्रतिनिधिले बाढी र डुवानबाट धानबाली, माछापालन, तटबन्ध, सडक र कल्भर्टमा भएको क्षति तथा पुननिर्माणका प्राथमिकताबारे गरेको कुराकानीको सम्पादित अशंः

प्रमुख महतो

पछिल्लो बाढी र डुबानका घटनाबाट यस क्षेत्रका सयौं विघा खेतीयोग्य उब्जाउ जमिन खोलाले कटान गरेको छ । भित्रयाउन ठिक्क बेला भएको धानबाली र बिक्रीका लागि तयारी भइरहेको माछापालनमा ठूलो नोक्सान भयो । गाँउबस्ती डुवानमा परेर तहस–नहस भयो । सहजरुपमा सडक यातायात आवागमनमा अझै असज छ । बाढीले तटबन्धमा क्षति पु-याएको छ । कुलो र नहरका बाँध भत्किएका छन् ।

बाढी र डुवान घटेपछि नगरपालिकासँग भएका डोजर र स्काभेटरसहितका उपकरण प्रयोगलाई प्राथमिकता निर्धारणको कार्ययोजना बनाई सडकमा दसैँका बेला कम्तीमा पनि दमकल, एम्बुलेन्स र पाहुनालाई घरसम्म पुग्न सक्ने गरी सडक तयार गरियो । तथापी, यस क्षेत्रमा रहेका ठूला खोलामा क्षति भएका पुललगायतका संरचनामा स्थानीय तहको बजेट प्रयोग गरी तत्काल निर्माण गर्न सक्ने सम्भावना भएन ।

त्यसका लागि सङ्घ र प्रदेशको सहयोग चाहिन्छ । केही दिनका भगिरथ प्रयासपछि अहिले सामान्यतया सडक यातायात आवत–जावत गर्न सकिने अवस्था सिर्जना गरिएको छ । बाढी र डुबानका घटना लगत्तै दसैँ आएकाले टोल छिमेकिलाई प्रभावित परिवारलाई सहयोग तथा सरसापट, अइँचो–पइँचो गरेर दसैँ मनाउने व्यवस्थाका लागि अनुरोध गरिएको छ ।

चाडबाडलाई भड्किलो र खर्चिलो नबनाउने अनुरोध गरेका छौँ । अहिले सरसापट गरेर दसैँ मनाउँला, धान भित्र्याएपछि ऋण तिरौंला भनेर बसेका किसानका सपनालाई बाढीले तुषारापत बनाइ दिएको छ । खेत खण्डहरमा परिणत भएको छ भने माछा बेचेर दसैँ मनाउने सोच बनाएका किसान पोखरीमा बाढी पसेपछि विचल्लीमा परेका हुन् ।

यस क्षेत्रका एउटा किसान परिवारको कम्तीम रु ५० हजारदेखि १० लाखसम्म किसान क्षति भएको छ । माडी धान र माछा उत्पादनमा मुलुकमै कहलिएको क्षेत्र हो । खासगरी स्थानीय घाँघर खोलाले ठूलो क्षति पु¥यायो भने रिउलगायतका चुरेबाट निष्कने स–सना खोला र खहरेले पनि उत्तिकै नोक्सानी पु¥याएको छ ।

खेतमा अहिले ढुङगा र बालुवा थुप्रिएकोछ । नगरपालिकाले क्षतिको विवरण सङ्कलन गरिरहेको छ । केही प्रभावित परिवारलाई सङ्घ संस्थाको सहयोगमा केही राहत वितरण गरिएको छ । विपद्का बेला आफूले मात्रै होइन, दसैँ मनाउन छिमेकीलाई पनि सरसहयोग गरौँ भनेर नगरपालिकाले सबैलाई आह्वान गरेको छ । उहाँहरुले पनि अप्ठ्यारो र गाह्रो परेकालाई सहयोग गरि रहनु भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत