शरद ऋतुको रमाइला दिन । उघ्रिएको आकाश । उत्तरतिर टलक्कै टल्किएका हिमाल । खेतैभरी लहलह धान खेत । झलक्क हेर्दा लाग्छ गाउँमा सबै रमाएका छन् । खुसीयाली छाएको छ ।
तर, वास्तविकता त्यस्तो कहाँ छ र । गाउँको रौनक यहाँका युवाहरुसँगै बाहिरिएको छ । वयोवृद्ध मात्र गाउँमा छन् । दसैं मनाउन गाउँ आएका पनि आआफ्नो कार्यक्षेत्र फर्किसकेका छन् । उनीहरुसँगै गाउँको रौनक फेरी हराएको छ । दसैँमा आएकाहरु सहर फर्किएपछि दिनभरी चिरबिर गर्ने चराहरु साँझ आफ्नै गुँडमा फर्किएझैँ गाउँ सुनसान भएको छ ।
उमेरले ८६ वर्ष पार गर्नुभएका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका मनबहादुर घिमिरे दसैंका पाँच दिन छोरा बुहारी र नाति नातिनीसँगै रमाए। पोखरामा बसोबास गर्ने छोराबुहारी दसैं पछि फर्केपछि फेरी उनी एक्लै भएका छन् ।
श्रीमतीको मृत्यु पछि एकल जीवन जिउँदै आउनुभएका घिमिरेलाई खान लाउन र खर्च गर्न कुनै कमी छैन । एउटै कमी भनेको आफ्ना सन्तानको साथमा नहुनु हो । उसो त छोरा बुहारीले आफूसँगै पोखरामा बस्न कर गर्दछन् तर उनी आफ्नो थातथलो छोडेर पोखरा जान सक्दैनन्।
मनबहादुरकै जस्तो अवस्था छ सोही गाउँका ८७ वर्षीय खड्गबहादुर घिमिरे, ८९ वर्षीय बेदप्रसाद उपाध्याय, १०१ वर्षीय खड्गबहादुर थापा र ७९ वर्षीय टेकबहादुर कार्कीको पनि । उनीहरुका सन्तान कोही वैदेशिक रोजगारीमा छन् भने कसैले जवान छोरो गुमाउनुपर्दाको पीडा बोकेर बाँचिरहेका छन् ।
अध्ययन, रोजगार तथा विभिन्न कामले सहरी क्षेत्र बस्दै आएकाहरु दसैँ मनाउन गाउँ आएका थिए । चाडपर्व सकिएलगत्तै धमाधम फिर्न थालेपछि गाउँ सुनसान बन्न थालेको मंगला गाउँपालिका–२ रणबांगका हरिकृष्ण पौडेलले बताए । “केही दिन गाउँघरमा निकै रमाइलो भयो । देश विदेशका आफन्तहरुसँगको भेटघाटले दिन बितेको पत्तै भएन”, उनले भने, “दसैं सकिएसँगै गाउँ आएकाहरु फर्किन थाले । हेर्दाहेर्दै त्यति रमाइलो गाउँ फेरि विरक्तलाग्दो भयो ।”रासस
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ