आइतवार, कार्तिक २३, २०८२

विश्वबन्धुत्वको सन्देश लिएर राष्ट्रगान यात्री नेपाली भारत यात्रामा


कान्तिपथ



विश्वबन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावनाको सन्देशसहित विश्व राष्ट्रगान यात्री रामजी नेपाली भारत यात्रामा निस्कनुभएको छ ।


सोमबार पोखरादेखि बुटवल हुँदै उहाँ भारतको देहरादुनतर्फ लाग्नुभएको हो ।

नेपालीले एक सय ६० देशका राष्ट्रगान गाउँदै आउनुभएको छ । चन्द्र–सूर्य अङ्कित झन्डासहित देहरादुन, दिल्लीलगायत भारतका विभिन्न सहरको यात्रा गर्ने उहाँले बताए ।

“केही समय देशभित्रैका विभिन्न ठाउँ घुमे, अब तीन महिनाजति भारतमा रहन्छु”, नेपालीले भने, “राष्ट्रगानमार्फत शान्ति र विश्वबन्धुत्वको भावना जागृत गराउनु मेरो उद्देश्य हो, नेपालको सांस्कृतिक पर्यटनलाई यो यात्राले टेवा पु¥याउने मेरो विश्वास छ ।” नेपालीले गत वर्ष पोखराको फेवाताल किनारमा दैनिकजसो राष्ट्रगान सुनाएर विदेशी पर्यटकमाझ आफूलाई प्रस्तुत गर्नुभएको थियो । 

आफ्नो देशको राष्ट्रगान नेपालीको गलाबाट सुन्दा विदेशी पर्यटकहरु टक्क रोकिएर राष्ट्रगानको सम्मान गरेको दृश्य मनछुने खालको देखिन्थ्यो । अन्य दर्शकले पनि नेपालीले अनेक भाषामा सम्बन्धित देशका राष्ट्रगान गाइरहँदा चाखपूर्वक सुन्थे । अर्कै महादेशमा आफ्नो देशको राष्ट्रगान त्यो पनि विदेशी गायकले गाएको देखेर पर्यटकहरु दङ्ग परे ।

कोभिड–१९ महामारीयता बाहिरी देशको यात्रा प्रभावित बनेपछि उनले पछिल्लो समय पर्यटकीय राजधानी पोखरालाई आधार बनाएर सङ्गीत साधना र विश्वयात्राको अभियानलाई अगाडि बढाउँदै आउनुभएको थियो । 

नेपाललाई विश्व बजारसँग जोड्ने र पर्यटन प्रवद्र्धन गर्ने ध्येय लिएर आफू यात्रामा निस्केको उनले सुनाउनुभयो ।

सबै देशका राष्ट्रगान गाउँदै विश्वयात्रा गर्ने लक्ष्य कठिन भए पनि विचलित नभई साधना र कर्ममा तल्लीन रहेको नेपालीको भनाइ छ । 

विश्वयात्राका क्रममा उनले हालसम्म ११ देशको भ्रमण गरिसक्नुभएको छ । नेपाली दुई वर्षअघि संयुक्त अरब इमिरेट्स ९युएई० मा तीन महिना बिताएर आउनुभएको थियो । कोभिड–१९ महामारीयता उहाँको पहिलो विदेशयात्रा त्यही थियो । उनले विश्वयात्राका लागि सहयोगको पनि याचना गर्दै आउनुभएको छ । इष्टमित्र र शुभेच्छुकको सहयोगबाट केही देश पुग्न उहाँ सफल हुनुभएको हो ।

“शुभेच्छुक सङ्घसंस्था र महानुभावहरुको सहयोगका भरमा म यो यात्रामा छु, मसँग त घुम्नका लागि कुनै स्रोत छैन, सहयोगको याचना गर्दै हिँड्छु, यसरी नै चलेको छ”, उनले भने । नेपालीको पहिलो विदेशयात्रा सन् २०१७ मा बेल्जियमबाट सुरु भएको थियो । बेल्जियमसँगै फ्रान्स, स्पेन र नेदरल्यान्डका विभिन्न सहर र सार्वजनिकस्थलमा समेत राष्ट्रगान गाएको उहाँले स्मरण गर्नुभयो । 

“आइफिल टावरमा पुगेर फ्रान्सको राष्ट्रगान गाएँ, प्रवासी नेपालीहरूसँगको समन्वयमा म युरोप पुगेको थिएँ”, नेपालीले विगत सम्झनुभयो । उहाँले चार वर्षअघि पहिलोपटक राष्ट्रगान यात्राका क्रममा भारत पुग्दा चेन्नइदेखि हिमाञ्चल प्रदेशसम्मको यात्रा गर्नुभएको थियो । 

नेपालीले जुन देश पुग्दा पनि पहिले नेपालको र त्यसपछि मात्र सम्बन्धित देशको राष्ट्रगान गाउने गर्नुभएको छ । सन् २०२५ भित्र एक सय ९५ देशका राष्ट्रगान गाउँदै विश्वका दुई सय ३२ वटै देश पुग्ने उहाँको लक्ष्य पूरा हुने देखिएको छैन । कोभिड–१९ महामारी, आर्थिक मन्दी आदि कारणले यात्रामा अवरोध आएको नेपालीले बताए । 

जस्तै सङ्कट आए पनि नयाँ–नयाँ देशको राष्ट्रगान सङ्कलन र गायन अभ्यासलाई भने आफूले नछाडेको उहाँको भनाइ छ । “मैले दायाँबायाँ केही सोचेको छैन, म यसैमा साधनारत छु, राम्रो समयको पर्खाइमा छु, आत्तिएको छैन”, नेपालीले भने । बागलुङको बागलुङ नगरपालिका–६ भिरलाङ्खुरीमा जन्मिनुभएका नेपालीसँग सबैभन्दा धेरै देशका राष्ट्रगान गाउन सक्ने गायकका रूपमा विश्व कीर्तिमान राख्ने सपना छ । त्योभन्दा बढी बुद्ध र सगरमाथाको देशका रूपमा नेपालको चिनारी देशदेशान्तर फैलाउने चाहना छ ।

नेपालीले ‘गुगल’, ‘युट्युब’जस्ता माध्यमबाट विभिन्न देशका राष्ट्रगान र तिनका ‘ट्र्याक’ खोजेर गाउने गर्दै आउनुभएको छ । 

एक सय ९५ देशका राष्ट्रगान र तिनका धून सङ्कलन गरिसकेको उनको भनाइ छ । अनेक भाषाका राष्ट्रगान सही ढङ्गले गाउनु चुनौतीपूर्ण विषय भएको नेपालीको अनुभव छ । “सङ्गीत, भाषा, उच्चारणदेखि धेरै पक्ष ख्याल गर्नुपर्ने हुन्छ, एउटा राष्ट्रगान गाउनसक्ने हुन लामो अभ्यास र प्रक्रिया पार गर्नुपर्छ”, नेपालीले भने, “सबै भाषाका गीतलाई नेपाली रोमनमा उतारेर गाउने गरेका छु ।”



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत