शनिबार, मंसिर २९, २०८१

सडकआश्रित मानवको राष्ट्रिय उद्घार यात्राको टोली चितवनमा


कान्तिपथ


सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माण एवं घोषणा वर्ष २०८२ सफल पार्ने लक्ष्यका साथ अभियान बोकेर मेची–महाकाली राष्ट्रिय उद्घार यात्रा–२०८१ मा निस्केको टोली मङ्गलबार चितवन आइपुगेको छ ।

‘यो पटकको चाडपर्वमा, कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा पूर्वको मेची पुलबाट सुरु गरिएको अभियानको टोलीलाई भरतपुरमा आज स्वागत गरिएको छ ।

स्वागत कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अभियानको सफलताको शुभकामना व्यक्त गरिन् । उनले महानगरपालिकाले देशमै पहिलो पटक सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिएको स्मरण गरिन् ।

मानव सेवा आश्रमसँगको सहकार्यमा सहयोगापेक्षी सडक मानवको खोजी र उद्घार कार्य गरी सो अभियान सफल पारेको उनले बताइन् । आजको दिनमा चितवन तथा भरतपुरमा सहयोगापेक्षी सडक मानव नभेटिएकामा उनले खुसी व्यक्त गरिन् ।

मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले १२ वर्षअगाडि स्थापना भएको मानव सेवा आश्रम आज देशका सात प्रदेशका १९ जिल्लामा २४ सेवा केन्द्रबाट सेवा प्रवाह भइरहेको बताए ।

उनले विसं २०८२ सम्ममा नेपालको सडकपेटीमा कसैले पनि भोकै नाङ्गै बेसहारा भएर बस्न नपर्ने राष्ट्र निर्माण गर्ने सङ्कल्प आफूहरुको रहेको उल्लेख गरे ।

महानगरमध्येमा सबैभन्दा सहयोगापेक्षी सडकआश्रित मानवमुक्त भरतपुर महानगर घोषण भएको भन्दै आज भरतपुर आइपुग्दा मेची–महाकाली यात्रामा हौसला मिलेको उनको भनाइ थियो ।

अभियानका क्रममा अध्यक्ष अधिकारीले हेटौँडादेखि भरतपुरसम्म आउँदा एकजना पनि बेसहारा सहयोगापेक्षी मानव नभेटिएको बताए ।

मेची–महाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा हालसम्म कोशी र मधेश प्रदेशमा ८४ जनाको उद्धार भएको अधिकारीले जानकारी दिए ।

उनले चितवनमा आइपुग्दा सहयोगापेक्षी मानव नभेटिनुले अभियानमा हौलसा मिलेको उनको भनाइ थियो ।

छोइङ डोल्मा फाउन्डेसनका संस्थापक आनी छोइङ डोल्माले यो अभियान सबैको साझा अभियान रहेको बताए ।

यात्राका क्रममा सहयोगापेक्षीहरु कम भेटिनु अभियानको शुभ सङ्केत रहेको भन्दै उनले भरतपुर महानगरपालिका सहयोगापेक्षी सडक मानवमुक्त भएकामा खुसी व्यक्त गरे ।

गत असोज २६ गतेदेखि सुरु भएको सहयोगापेक्षी सडकआश्रित मानवको मेची–महाकाली राष्ट्रिय उद्घार यात्रा यही कात्तिक २८ गते सकिनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत