काठमाडाैं । बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको नेपाल औषधि लिमिटेडले जनाएको छ।
लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरूले सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि भइरहेको बताए।
उनले भने, ‘हामीले नियमित उत्पादन गरिरहेका छौँ। दैनिक दुई सिफ्टमा काम भइरहेको छ। सिटामोलसँगै जीवनजललगायत अन्य औषधि पनि उत्पादन भइरहेको छ।’ उनका अनुसार दैनिक तीन लाख सिटामोल उत्पादन भइरहेको छ।
‘डेंगुका वेला पनि सिटामोल पाइएन भन्ने सुनिएपछि सूचना निकालेका छौँ । हामीसँग जति खरिदका लागि आउनुभएको छ, दिएका छौँ । खरिद–बिक्रीको अनुपात हेर्ने हो भने सन्तुलित छ,’ प्रबन्ध निर्देशक पनेरूले भने। सिटामोलको अभाव रहेको भन्ने विभिन्न माध्यमबाट गुनासो आएकाले लिमिटेडले बिहीबार एक सूचना जारी गरी सोबारे ध्यानकर्षण गराएको थियो।
खरिदका लागि सम्पर्क गर्ने लिमिटेडका सबै भण्डारणकर्ता, सरकारी अस्पताल तथा तीनै तहका सरकारमातहतका स्वास्थ्य आपूर्ति व्यवस्थापन निकायलाई मागअनुसारको परिमाणमा सिटामोलको तत्काल आपूर्ति गर्दै आइरहेको सूचनामा उल्लेख छ।
लिमिटेडले पछिल्लो समय बढिरहेको डेंगुको संक्रमणलाई लक्षित गर्दै सर्वसाधारणका लागि सिटामोल सहज रूपमा उपलब्ध गराउने उद्देश्यले काठमाडौं, बबरमहलस्थित बिक्री महाशाखाको काउन्टरबाट जोकोहीले आवश्यकताअनुसारको खरिद गर्न सक्ने व्यवस्था मिलाएको छ। उक्त काउन्टरबाट बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सिटामोल खरिद गर्न सक्ने लिमिटेडले जनाएको हो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ