मङ्लबार, कार्तिक २७, २०८१

शुक्लाफाँटामा घरपायक चिकित्सकीय सेवा


कान्तिपथ


कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-४ असैनास्थित पिपलाडी स्वास्थ्य चौकीमा चिकित्सकको व्यवस्था गरिएपछि स्वास्थ्य परीक्षण गराउनेको सङख्या बढेको छ ।

स्वास्थ्य चौकीका प्रमुख दुर्गादत्त भट्टका अनुसार आव ०८०/८१ को असार मसान्तसम्म १० हजार नौ सय ७० बिरामीले सेवा लिएका छन् । तीमध्ये महिला सात हजार चार सय ९१ र पुरुष तीन हजार चार सय ७९ रहेका छन् । उपचारका लागि स्वास्थ्य चौकी पुग्ने ज्येष्ठ नागरिकको सङ्ख्या मात्रै एक हजार छ सय सात रहेको छ । सुरक्षित रूपमा प्रसूति गराउनेको सङ्ख्या एक सय ३८ रहेको छ । गर्भपतन सेवा एक सय १० जना, औलो परीक्षण दुई सय १८ ले लिएका छन् ।

चालु आवको साउनदेखि असोज महिनासम्मको अवधिमा स्वास्थ्य चौकीबाट तीन हजार पाँच सय ३१ बिरामीले सेवा लिएका छन् । “चिकित्सक नहुँदा विगतमा वर्षमा दुई हजारको हाराहारीमा बिरामी आउने गरेका थिए”, स्वास्थ्य चौकी प्रमुख भट्टले भने, चिकित्सको व्यवस्थाले बिरामीको सङ्ख्या बढेको छ ।”

घरदैलोमै चिकित्सकीय सेवा पाएपछि स्थानीय बासिन्दालाई टाढाको महेन्द्रनगर, धनगढी र निकटवर्ती भारतीय सहरमा उपचारका लागि पुग्नुपर्ने झन्झट हटेर गएको शुक्लाफाँटा-४ वडाध्यक्ष कमल ठकुल्लाले बताए । स्वास्थ्य चौकीमा नगरपालिकाको आन्तरिक स्रोतबाट तलब व्यहार्ने गरी चिकित्सको व्यवस्था गरिएको उनले उल्लेख गरे ।

भाइरल ज्वरो भएर स्वास्थ्य चौकी पुगेका कलावती चौधरीले चिकित्सको सल्लाहमा औषधि सेवन गर्दा ज्वरो ठिक भएको बताए ।

“पहिला चिकित्सक नहुँदा निजी मेडिकलमा पुगेर उपचार गराउनुपर्ने अवस्था थियो”, उनले भने, “चिकित्सकको व्यवस्थाले टाढा जानुपरेको छैन, पैसाको पनि बचत भएको छ”, स्वास्थ्य चौकीमा चार वर्षदेखि निरन्तर रूपमा चिकित्सकीय परामर्श सेवा उपलब्ध हुँदै आएको छ । “औषधिको सेवन गरी ठिक हुने बिरामीलाई चिकित्सकले स्वास्थ्य चौकीमा उपलब्ध निःशुल्क रूपमा उपलब्ध हुने औषधिका सिफारिस गर्दै आएका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी रमेशराज भण्डारीले बताए ।

स्वास्थ्य चौकीमा उपलब्ध नहुने औषधिका लागि बाह्य क्षेत्रबाट खरिदका लागि चिकित्सकले परामर्श दिने गरेको उनको भनाइ रहेको छ । जटिल प्रकृतिका शल्यक्रिया गर्नुपर्ने बिरामीलाई मात्रै बाह्य क्षेत्रमा उपचारका लागि रिफर गरिन्छ । स्वास्थ्य चौकीमा इसिजी सेवा, अल्ट्रासाउण्ड सेवा, प्रयोगशाला सेवा उपलब्ध छ ।

योसँगै चौबिस घण्टे प्रसूति सेवा, सुरक्षित गर्भपतन सेवा, खोप सेवा, पोषण सेवा, सुरक्षित मातृत्व सेवा, एन्टी रेबिज भ्याक्सिन सेवा, चिकित्सकीय सेवा, ग्रामीण अल्ट्रासाउण्ड सेवा, एम्बुलेन्स सेवा, क्षयरोग, कुष्ठरोगलगायतका महामारी नियन्त्रण तथा रोकथाम सेवा र दैनिक बिरामी जाँच सेवा उपलब्ध रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत