काठमाडौं । नेकपा एमालेका सांसद तथा डिस होम मिडिया नेटवर्कका मालिक देवि प्रकाश भट्टचनविरुद्ध ९८ करोड रुपैयाँभन्दा बढी सहकारी ठगीको आरोप लागेको छ ।
तत्कालिन प्रभु समुहका अध्यक्ष समेत रहेका उनी विरुद्ध प्रभु समुह अन्तर्गतकै प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले जाहेरी दिएकी हुन् ।
ठगी आराेपमा जाहेरी दिएपनि एमाले सांसद र सत्ता शक्तिको आडमा नेपाल प्रहरीकाे उपत्यका अपराध अनुसन्धान कार्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जाहेरी नलिएपछि विशेष सरकारी वकिल कार्यालयमा जाहेरी दर्ता भएको छ ।
सरकारी वकिलको कार्यालयले दशैं अघि नै अर्थात् असोज ११ गते जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्र लेख्दै ‘कुसुम लामाले देवी भट्टचन समेत उपर दिनु भएको मुलुकी अपराध संहिता २०७४ को दफा २४९ र दफा २५२ बमोजिमको कसुर (ठगी समेत) मुद्दामा दिनु भएको जाहेरी दरखास्तको प्रतिलिपि यस कार्यालयमा राखी जाहेरीवालाले यस कार्यालयमा दिएको निवेदन, जाहेरी दरखास्त र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि समेतका कागजातहरु संलग्न राखी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५ (२) बमोजिम आवश्यक कार्यार्थ पठाइएको व्यहोरा अनुरोध छ’ भनेको छ । त्यसपछि यो विषय बाहिरिएको हो ।
देवीले देशभरका विभिन्न सहकारीबाट रेमिट्यान्सले भुक्तानी दिएको ९८ करोड रुपैयाँ अपचलन गरेको आरोप छ ।
विशेषगरि विदेशस्थित प्रभु रेमिटेन्स मार्फत नेपाल पठाईएको पैसा हुण्डि गरि विदेशमै बुझ्ने र यता नेपालमा भने सहकारीमार्फत भुक्तानी दिने गरिएको थियो ।
ती सहकारीहरुले प्रभु म्यानेजमेन्ट प्रा.ली मार्फत पाउनुपर्ने ९८ करोड रुपैयाँ नपाएपछि हाल अध्यक्ष रहेकी लामासँग पैसा माग्नेको लर्काे लागेको थियो ।
पोखराको सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारी संस्थाले पाउनुपर्ने पैसा भुक्तानी नभएको भन्दै लामालाई पत्रचार समेत गरेको थियो ।
लामाले जवाफमा उक्त रकम भट्टचनले अपचलन गरेकाले उनले फिर्ता दिएपछि मात्रै भुक्तानी दिन सक्ने जवाफ दिएकाे जनाएको छ ।
भट्टचनले अपचलन गरेको पैसाको टर्चर सहन नसकेर कुसुम अहिले सम्पर्क बिहिन छिन् ।
यो विवाद भर्खरै सुरु भएको भने होईन । स्रोतका अनुसार करिब १ वर्षदेखि नै भट्टचन र लामाबीच आन्तरिक द्वन्द सुरु भएको थियो । दुबैको विवाद चुलिएपछि अन्य विकल्पले काम नगर्दा मुद्दा मामिला, अड्डा अदालतत सम्म पुगेको हो ।
प्रभु मेनेजमेन्ट प्रभु मनी ट्रान्सफरका सुपर एजेन्ट हो । प्रभु मेनेजमेन्टले सहकारीलाई एजेन्ट बनाएर रेमिट्यान्सको काम गर्दै आएको छ । यसमा विदेशमा रहेका नेपालीले प्रभु मनिट्रान्सफरमा पैसा पठाउँछन् । नेपालमा रहेका परिवारलाई पैसा पठाएको कोड नम्बर पठाउँछन् । त्यो कोड नम्बर लिएर आउनेलाई सहकारीले पैसा दिन्छ ।
कान्तिपथले जानकारी लिन खोज्दा भट्टचनले फाेनमा कुरा गर्दै भने, यसमा मेराे कुनै संलग्नता नरहेकाे भन्दै पन्छिए ।
तर, लामा लामो समय प्रभु इन्स्योरेन्स कम्पनीको अध्यक्ष समेत भएकी थिइन् । यसअघि भट्टचन प्रभु मेनेजमेन्टको पनि अध्यक्ष थिए । उनी प्रभु रेमिट्यान्सको अध्यक्ष भएपछि लामा प्रभु मेनेजमेन्टकी अध्यक्ष भएकी हुन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ