मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागु भएको छ । आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि लागु हुनेछ ।
निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा ९२० बमोजिम उपनिर्वाचन हुने सम्बन्धित जिल्ला भित्र निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।
उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्रका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन आचारसंहिता लागु हुनेछ । नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्रीलाई निर्वाचन आचारसंहिता लागु हुनेछ ।
यस्तै, संवैधानिक निकाय र सो निकायका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारीलाई निर्वाचन आचारसंहिता लागु हुनेछ ।
यसैगरी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलका भातृसंगठन, उमेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उमेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्तालाई आचारसंहिता लागु हुनेछ ।
पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी, मतदाता, विकास साझेदार संस्थालाई पनि निर्वाचन आचारसंहित लागु हुनेछ ।
सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु वा सेवाप्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार, आयोगले तोकेका अन्य निकाय वा व्यक्तिलाई समेत निर्वाचन आचारसंहिता लागु हुने आयोगले जानकारी गराएको छ ।
उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिएकी छन् ।
विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ