पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, बीरगंजको सानोपाइला, नेपालगंजको समानता सहकारीमा बचतकर्ताको १६ अर्ब रुपैयाँ अपचलन गरी गितेन्द्रबाबु (जीबी) राईले खरिद गरेका जग्गा किन्ने बाजेको सेकुवाका संचालक चेतन भण्डारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले खोजेपछि पक्राउ पर्ने डरले दुबई पुगेका छन् ।
उक्त जग्गा खरिद गर्ने भण्डारीका अर्का साझेदार पवनकुमार साहलाई सीआईबीले खोजेपछि सम्पर्कबिहीन भएको स्रोतकाे दाबी छ ।
सीआईबीले खोजेपछि दुबई पुगेका चेतन भण्डारी र पवनकुमार साहले प्रधानमन्त्री केपी शर्मा ओलीनिकट बताउने भक्तपुरका बस्नेत थरका बिचौलियाको माध्यम प्रयोग गरी जग्गा प्रकरण मिलाउन लागेको स्रोत बताउँछ । ती बिचौलियाले एआईजी दीपक थापालाई मिलाउँछु भन्ने आश्वासन पवन साहलाई दिएका छन् । बिचौलियाले सीआईबी मिलाएपछि मात्र भण्डारी नेपाल फर्किनेगरी दुबईमै बसेका छन् ।
भैंसेपाटीको प्राइम लोकेसनमा रहेको उक्त जग्गाको न्यूनतम मूल्य ५० लाख रुपैयाँ प्रतिआना छ । हालको मन्दीमा न्यूनतम ४० लाख प्रतिआना नै मूल्य राख्दा पनि २३ रोपनी ७ आना जग्गाको १ अर्ब ५० करोड पर्न आउँछ ।
१ अर्ब ५० करोडको उक्त जग्गा भण्डारी र साहको चेनी क्यापिटलले १२ करोड ५० लाखमा किनेको छ । न्यूनतम ४० लाख प्रतिआना पर्ने उक्त जग्गा ३ लाख ३३ हजार आनामा चेनी क्यापिटललाई बिक्री गरेको देखाइएको छ । जुन सरकारी मूल्ल्यांकन भन्दा पनि कम रहेको छ ।
सहकारी ठगीको रकमबाट २०७९ भदौ १ गते खरिद गरेको उक्त जग्गा १५ दिनपछि भदौ १५ गते हिमालयन बैंक न्यूरोड शाखामा धितो राखी १६ करोड ८० लाख रुपैयाँ ऋण लिइएको छ । १२ करोड ५० लाखमा २३ रोपनी ७ आना जग्गा खरिद गरेको र पूरै जग्गा धितो नराखी ३ रोपनी धितो राखेर १६ करोड ८० लाख कर्जा लिइएको छ । १२ करोड ८० लाखमा २३ रोपनी ७ आना जग्गा सस्तोमा पाएँ भनेर खरिद गरेका साह र भण्डारीले सिधै सहकारी पीडितलाई ठगी गर्न खोजेको देखिन्छ ।
जीबीले सहकारीको रकममबाट उक्त जग्गा किनेको थाहा पाएर पनि खरिद गरेका भण्डारी र साहलाई समेत ठगीमा सीआईबीले पक्राउ गर्ने तयारी गरेपछि उनीहरु सम्पर्कबिहीन भएका हुन् ।
यसैबीच, गितेन्द्रबाबु (जीबी) राईले ठगीको रकमबाट खरिद गरी साह र भण्डारीलाई बेचेका भैंसेपाटी लगायतका सबै जग्गा प्रहरीको पत्रका आधारमा मालपोत कार्यालय ललितपुर लगायतले रोक्का राखेका छन् ।
ललितपुर भैंसेपाटीको प्राइम लोकेसनको उक्त जग्गा सहकारी ठगीमा फरार जीबी राईले चेनी क्यापिटललाई बिक्री गरेका थिए । चेनी क्यापिटलमा पवनकुमार साहकी श्रीमती रश्मी साह र बाजेको सेकुवाका संचालक चेतन भण्डारीका आफन्त एकनाथ भण्डारी संचालक छन् । कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएको उक्त कम्पनीमा सुरुमा जीबी राई पनि सेयरधनी थिए ।बाजेको सेकुवाका भण्डारी ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा समेत मुछिएका थिए । स्राेत : नेपाल फेस
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ